- कमल खत्री
म्याग्दी : सरकारी तवरबाट विनियोजन हुने बजेट काम नै नगरी सक्ने प्रवृत्ति मौलाइरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयवासीले भने उदाहरणीय कार्य गरेका छन्। जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयवासीले सरकारी बजेटको योजना श्रमदानमार्फत सम्पन्न गरी उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन्।
चालु आवमा तत्कालीन निस्कोट गाविसले निस्कोटको पर्यटकीयस्थल बराहतालदेखि देउरालीसम्मको गोरेटो बाटोमा पदमार्ग निर्माणका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ विनियोजन गरेको थियो। गाविसले पदमार्ग निर्माण योजनामा विनियोजन गरेको बजेटलाई स्थानीय सामुदायिक विद्यालय सञ्चालनार्थ सहयोग गर्ने उद्देश्यले सामूहिक श्रमदानबाट पदमार्ग बनाएको सामाजिक परिचालक भबहादुर पुनले बताए।
उनका अनुसार, गाविसका चार सय घरधूरीबाट श्रमदान गरी गाविसले बजेट विनियोजन गरेको बराहतालदेखि देउरालीसम्मको करिब तीन किलोमिटर पदमार्ग तयार गरिएको छ। जङ्गलको झाँडी सफा गर्दै पुरानो गोरेटो बाटोमा सिँढी चिनेर पदमार्ग बनाइएको पुनले बताए। स्थानीयवासीले डेढ मिटर चौडाइमा ढुङ्गाले सिँढी चिनेर पदमार्ग बनाएका छन् भने कतिपय ठाउँमा साँघुरो बाटोलाई फराकिलो बनाइएको छ। मालिका गाउँपालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले गाविसबाट पदमार्ग निर्माण योजनामा बजेट विनियोजन गरिएको भए पनि स्थानीयवासीले सो योजना श्रमदानमार्फत सम्पन्न गरी उक्त रकमलाई विद्यालयमा सहयोग गर्ने सहमति गरी उदाहरणीय काम गरेको बताए।
बराह ताल हुँदै देउराली पुर्याइएको पदमार्गमा बागलुङको ताराखोला जाने बाटो जोडिएको छ। पदमार्ग निर्माण भएपछि दुवै गाउँतर्फ आवत–जावत गर्ने स्थानीयवासी र बराह तालको अवलोकनका लागि जाने पर्यटकलाई सुविधा पुगेको छ। चालु आवमा नै तत्कालीन निस्कोट गाविसले निस्कोट माविमा बालमैत्री शौचालय निर्माणका लागि विनियोजन गरेको ७२ हजारसमेत रुपैयाँ स्थानीयवासीले श्रमदानमार्फत योजना सम्पन्न गरी सो रकम विद्यालयलाई नै उपलब्ध गराउने भएका छन्। 'पदमार्ग र बालमैत्री शौचालयका लागि गाविसले विनियोजन गरेको रकम विद्यालयलाई सहयोगस्वरुप प्राप्त हुने भएको छ, सो योजनालाई श्रमदानमार्फत सम्पन्न गरी विद्यालयलाई रकम उपलब्ध गराउने स्थानीयवासीको काम प्रशंसनीय छ'– विद्यालयका प्रधानाध्यापक हरि पुनले भने।
उनले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालय चलाउनै मुस्किल भइरहेको अवस्थामा स्थानीयवासीले बर्सेनि लाखौँ रुपैयाँ विभिन्न माध्यममार्फत विद्यालयलाई उपलब्ध गराउँदै आएको बताए। चार प्रावि, दुई राहत निमावि दरबन्दी रहेको विद्यालयमा दुई सय ५१ जना विद्यार्थी अध्ययनरत रहेका छन भने निजी स्रोतका शिक्षकका लागि मासिक ५२ हजार रुपैयाँ विद्यालयले आन्तरिक स्रोतबाट जुटाउँदै आएको छ।
विद्यालयले २०७१ देखि २०७३ पुस मसान्तसम्म गाउँ भेलाकै निर्णयअनुसार विद्यालय सञ्चालनार्थ प्रतिघरधुरी मासिक तीन सय शुल्क उठाएको थियो। प्रतिघरधुरी पैसा उठाउँदा विपन्न वर्गका घरपरिवारलाई आर्थिक भार परेपछि यो वर्षदेखि स्थानीयवासीले वैकल्पिक स्रोतको पहिचान गरेका छन्। विद्यालयका अनुसार, यो वर्षदेखि निस्कोटमा रहेको घर छाउने ढुङ्गाखानीबाट वार्षिक ६० हजार र सिद्धथानमा पूजापाठबाट उठ्ने ६० हजार विद्यालयको आम्दानीमा जनिने प्रबन्ध मिलाइएको छ भने वार्षिकरुपमा देउसी, भैलो, लाहुरे स्वागतजस्ता कार्यक्रममार्फत निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउने अभियान थालिएको छ।