PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बर्सेनि १० प्रतिशतले बढ्दै लागुऔषध दुर्व्यसनी : यसरी फस्दैछ 'प्लस टु' पुस्ता



सविन ढकाल

बर्सेनि १० प्रतिशतले बढ्दै लागुऔषध दुर्व्यसनी : यसरी फस्दैछ 'प्लस टु' पुस्ता
प्रतीकात्मक फोटो : mid-day.com

काठमाडौं : नेपालमा हरेक वर्ष १० प्रतिशतभन्दा बढीले लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ। सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता प्लस टु अध्ययनरत विद्यार्थी  र होस्टलमा बस्ने छात्रछात्रा रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार करिब ३१ प्रतिशत प्रयोगकर्ता प्लस टु मा पढ्ने विद्यार्थी हुन्। धेरैजसोमा स्कुलको पढाइ सकेर क्याम्पस जाने समयमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यातले बताए। 'होस्टलमा बस्ने युवाले पनि लागुऔषध लिने गरेको पाइएको छ,' उनले भने।

ब्युरोले लागुऔषध प्रयोगलाई नियन्त्रण गर्न होस्टेल सञ्चालकहरुसँग पनि छलफल गरिसकेको छ। सर्वेक्षण अनुसार ७१ प्रतिशत मानिस साथीभाइ मार्फत लागुऔषध सेवनमा फस्ने गरेका छन्। त्यस्तै ३८ प्रतिशत प्रयोगकर्ताले मेडिकलहलमा बेचिने लागुऔषध सेवन गर्ने गरेको देखिएको छ। सामाजिक सञ्जालको माध्यमबाट पनि लागुऔषध प्रयोग गर्नेहरु बढिरहेका छन्।

कति छन् प्रयोगकर्ता?

एक दशकअघि केन्द्रीय तथ्यांक विभागले गरेको अनुसन्धान अनुसार नेपालमा ४६ हजार मानिस लागुऔषध प्रयोग गर्ने गरेको देखिएको थियो। ६ वर्षको अन्तरालमा अर्थात २०६९ सालमा आइपुग्दा लागुऔषध प्रयोगकर्ताको संख्या बढेर ९१ हजार १ सय ५० पुग्यो। अहिले भने देशभर दुर्व्यसनीको संख्या दुई लाख १० हजारभन्दा बढी रहेको प्रहरीको अनुमान छ।

विभागको २०६९ सालको तथ्यांक अनुसार राजधानीमा मात्र ३६ हजार ९ सय लागुऔषध प्रयोगकर्ता रहेका छन्। काठमाडौं सबैभन्दा बढी प्रयोगकर्ता रहेको जिल्लामा पर्छ। मोरङ, कास्की, पर्सा लगायतका जिल्लामा पनि दुर्व्यसनीको संख्या उच्च छ। यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या झन्डै ८० प्रतिशत छ। पुरुषको संख्या बढी भए पनि महिला समेत लागुऔषधको कुलतमा फसेका छन्। दुई वर्षअघिको तथ्यांकमा महिला दुर्व्यसनीको संख्या ६ हजार ३ सय ३० थियो।

६ वर्षमा १७ हजार पक्राउ

लागुऔषध प्रयोगकर्ता बढेसँगै लागुऔषध कारोबारमा संलग्नहरु पक्राउ परिरहेका छन्। तर यसरी पक्राउ पर्नेहरुमा मुख्य नाइकेभन्दा पनि भरियाहरु बढी रहेको प्रहरी बताउँछ।

प्रहरीले लागुऔषध कारोबारीको जरैसम्म पुग्ने बताए पनि अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय गिरोह भने पक्राउ पर्न सकेका छैनन्।

सन् २०११ देखि २०१७ को यो तीन महिनामा कुल १७ हजार ४ सय ८४ जना लागुऔषध ओसारपसारमा संलग्नहरु पक्राउ परेका छन्। यसरी पक्राउ पर्ने लागुऔषध कारोबारीको संख्या बढ्दै गएको तथ्यांकले बताउँछ।

सन् २०१६ मा सबैभन्दा बढी ३ हजार ६ सय ९६ जना कारोबारी पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा १ सय १३ जना भारतीय छन् भने २६ जना अन्य देशका रहेका छन्।

सन् २०१७ को मार्चसम्म ७ सय ६७ जना पक्राउ परिसकेका छन्। सन् २०११ मा २ हजार १ सय ७४, २०१२ मा २ हजार ६ सय, २०१३ मा २ हजार ६ सय ७३, २०१४ मा २ हजार ९ सय १८ र २०१५ मा २ हजार ६ सय ५६ लागुऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ता पक्राउ परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell