
काठमाडौं : मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक मोर्चा चुनावअघि एउटै झण्डा र एउटै चिह्न बनाउन पार्टी एकताको अन्तिम तयारीमा रहेको मोर्चा आबद्ध दलले खुलासा गरेका छन्। मधेसी मोर्चाका आबद्ध दल मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबीच एक हप्ताभित्र एकता हुने खुलासा गरेका हुन्।
उनले भने, 'मधेस केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग हो, ज्योतिषले सिफारिस गरेको शुभदिन पारेर हामी एकता घोषणा गर्छौ, 'अध्यक्ष यादवले भने 'एक हप्ताभित्रै पार्टी एकता घोषणा भइसक्छ।' यादवले मोर्चा अब एउटै पार्टी र एउटै झण्डामा गोलबद्ध हुने दाबी गरे।
संविधान संशोधन नभएसम्म मोर्चा निर्वाचनमा भाग नलिने दाबी दोहोर्याए। यादवले भने, 'यो संविधानलाई पूर्ण नबनाइकन हामी निर्वाचनमा जाँदैनौं, यथास्थितिमा हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं।' यादवले मधेसी मोर्चालाई बाहिर राखेर चुनाव गराउने खोजेको भए गराएर देखाउन सरकारलाई चुनौतीसमेत दिए।
यादवले सहमतिको लागि वार्ता र छलफलका लागि बोलाए पनि अहिलेसम्म निकासको ठोस प्रस्ताव सरकारले अघि सार्न नसकेको आरोप लगाए। उनले द्वन्द्व चाहानेहरुले निर्वाचनको नौटङ्की गरिरहेको समेत आरोप लगाए।
यादवले लोकतन्त्रको पाठ सिकाउने ठूला दललाई संकेत गर्दै कुनै पनि आन्दोलन मधेसीविहीन नरहेको ध्यानाकर्षण गराए। 'लोकतन्त्र र निर्वाचनको पाठ पढाउने काम ठूला भनिएका दलहरुले गरिरहनु भएको छ, म उहाँहरुलाई प्रश्न गर्न चाहन्छ,' यादवले भने, 'नेपालको क्रान्ति र ठूला-ठूला आन्दोलनका इतिहास खोतल्ने हो भने हामी मधेसी जनताको योगदान कम छैन।'
यादवले गणतन्त्र र संघीयताका लागि मधेसीले विद्रोह गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले कुनै पनि आन्दोलन र परिवर्तनको नेतृत्व नगरी आफूलाई ठेकेदारका रुपमा प्रस्तुत गरेको आरोप लगाए।
'मधेसी जनताले गणतन्त्र र संघीयता ल्याउनका लागि विद्रोहको नेतृत्व गरेका छन्,' उनले प्रश्न गर्दै भने, 'तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो त?’ उनले एमालेले क्रान्तिको नेतृत्व नगर्ने तर भाग खोज्ने मात्र गरेको आरोप लगाए।