PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुन्दरीलाई फँसाउन खोज्दा आफै फन्दामा परे विमानस्थलका प्रहरी हवल्दार



सविन ढकाल

काठमाडौँ :  स्थान दरबारमार्गको होटल उडल्यान्ड।

४०२ नम्बरको बन्द कोठामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी भएका प्रहरी हवल्दार मोहन बस्याल काठमाडौँमा मोडलिङ व्यवसाय गर्ने युवती रेबिका ठकुरी (नाम परिवर्तन) सँग गफिँदै थिए। 

बस्यालकै माग पूरा गरिदिन मोडलले होटलको यो कोठामा डाकेकी थिइन्। उनी हौसिँदै त्यहाँ पुगेका थिए। तर उनको हातमा पर्‍यो हत्कडी।  

महानगरीय प्रहरी परिसरबाट खटिएका सादा पोशाकका प्रहरी त्यतै थिए। र, कोठाभित्र पनि अघि नै गोप्य क्यामेरा लुकाएर राखिएको थियो। उनी यो सबबाट बेखबर थिए, र त सेटिङ गृहमन्त्रालयसम्म रहेको गफ मोडललाई दिँदै थिए। 

खासमा रेबिका दुबई जान खोजेकी थिइन्। 'पहिलो पटक दुबईमा भिजिट भिसामा जान लागेको तर अभिभावकत्व ग्रहण गर्ने कोही नभएको' कारण देखाउँदै उनलाई चैत १ गते उड्न दिइएन। 

त्यही बेला सेटिङ मिलाइदिन्छु भन्दै देखा परेका थिए बस्याल। तर यसका लागि उनले गरेको मागले युवतीलाई झस्काइदियो- कि ६० हजार रुपैयाँ दिनुपर्ने अथवा एक दिनसँगै बिताउनु पर्ने। 

पछि उनले मेसेज गर्दै १० हजार डिस्काउन्ट अफर पनि गरे। ५० हजार वा एक रात आफूसँग बिताउनु पर्ने।

यौन प्रस्ताव आएपछि ती युवती न्युज २४ टेलिभिजनमा प्रसारण हुने ‘सीधा कुरा जनतासँग’ को सम्पर्कमा पुगिन् जहाँ उनलाई ‘स्टिङ अपरेसन’ का लागि राजी गराइयो। 

सुरुमा बस्यालले मोडललाई बसुन्धारास्थित आफ्नो घरमा बोलाए। उनले घर जान नमानेपछि बस्यालले मोडललाई नजिकैको रेस्टुरेन्टमा लगे। गोप्य क्यामेरा साथमा राखेर गएकी मोडलले यस्तो सेटिङ मिलाउने काममा को को संलग्न हुन्छन् भनेर पटक पटक सोधे पनि उनले खासै मुख खोलेनन्।  

बस्यालले अध्यागमनमा १२ जना कर्मचारी रहेको त्यसमध्ये आफू र अर्को एक जना भन्दै आफू वा अर्को कर्मचारीसँग रात बिताउन अफर राखे।

एक घण्टाको यो भेटपछि भोलिपल्ट उनले मोडललाई स्विमिङ जान र त्यसपछि गेस्ट हाउस जान प्रस्ताव राखे। 

स्टिङ अपरेसनमा आफू फँस्दै गएको उनलाई पत्तै थिएन। 

राम्रो छ, सेफ छ भन्दै मोडलले स्विमिङ पुल पनि भएको साथीको होटल भन्दै दरबारमार्गको उडल्यान्ड होटलमा बस्याललाई डाकिन्। त्यहाँ उनले एक घण्टासम्म सेटिङका बारेमा गफिएको हिडन क्यामेरामा रेकर्ड भइरहेको थियो। 

र, मंगलबार त्यही कोठाबाट प्रहरीले उनलाई हत्कडी लगाएर लिएर गए।

हिरासतमा राखी अनुसन्धान जारी

गैर कानुनी कार्य गरेको अभियोगमा बस्याललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले पहिलोपोस्टलाई बताए। उनले भने 'अहिले यस विषयमा थप अनुसन्धान भइरहेको छ।‘  

पक्राउ परेका बस्यालले दुबई पठाउने सेटिङका क्रममा गृहमन्त्रालयका कर्मचारीदेखि विमानस्थलका १२ कर्मचारीको संलग्नता देखिएको बताएका थिए।

यो घटना अहिले अनुसन्धानकै क्रममा रहेको र प्रहरी हवल्दार बस्याललाई विभागीय कारबाही हुने नहुने बारे त्यसपछि मात्रै थाहा हुने जानकारी काठमाडौँ प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले दिए।

न्युज २४ टिभीको कार्यक्रम

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell