PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

चितवनका ६ पोथी गिद्ध पुग्दैछन् जटायु रेस्टुरेन्टमा



पहिलोपोस्ट

चितवनका ६ पोथी गिद्ध पुग्दैछन् जटायु रेस्टुरेन्टमा

  • नारायण अधिकारी

चितवन : अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी राखिएको गिद्धलाई नयाँ ठाउँमा लगेर प्रकृतिमा छाडिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही वैशाख २ गते छाडिँदैछ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो।

निकुञ्जको कार्यालय कसरामा यस वर्ष कोरलेका ९ वटा वच्चासहित ५६ वटा गिद्ध रहेका छन्। सन २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो। सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो। यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध वैशाख २ गते छाड्न लागिएको हो।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चारचार वटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो। नवलपरासीको पिठौलीमा सोझै प्रकृतिमा छाड्नुअघि केही महिना राख्नका लागि खोर निर्माण गरिसकिएको छ।

उनका अनुसार सो खोरमा यी ६ वटा गिद्धलाई ढाडमा स्याटलाइट ट्याग जडान गरी राखिनेछ। विस्तारै बाहिर प्रकृतिका गिद्धसँग घुलमिल गराउने ढङ्गले छाड्नका लागि सबै खालका तयारी पूरा गरिएको छ। यीसँगै सो क्षेत्रमा रहेका प्राकृतिक ६ वटा गिद्धलाई पनि नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छोडिँदैछ। स्याटलाइटले दैनिक ६ पटक गिद्धको अवस्थाको बारेमा जानकारी दिनेछ।


नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा सिनो खाँदै गरेका गिद्धहरु। नारायण अधिकारी, रासस


नेपाल पंक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले खोरमा हुर्काइएका र प्रकृतिमा रहेका गिद्धको अध्ययनका लागि यो निकै प्रभावकारी रहने बताए। यो अभियानमा विश्वमा नै नेपाल पहिलो रहेको भन्दै विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिए पछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालेको बताए।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने उनले बताए। सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो। त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको उनको भनाइ छ। सो पश्चात् डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ।

नेपाल सरकारको गिद्ध संरक्षण अभियानको एक दाता प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख चिरन्जीवी पोख्रेलले सङ्ख्या वढाउनका लागि थालिएको संरक्षण अभियान प्रभावकारी भएको बताउँछन्।

एक दशकअघि विद्युत् विस्तारका क्रममा पनि धेरै गिद्ध बिजुलीको तारमा करेन्ट लागेर मरेको बताइन्छ। नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलो पटक जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।

हाल देशभर सात ठाउँमा यस्ता रेस्टुरेन्ट सुरु गरिएको छ। जटायु रेस्टुरेन्ट गिद्ध संरक्षण केन्द्र हो जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाया किनेर राख्ने गर्दछ। जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीकाअनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको रु २५० मा रेस्टुरेन्टले किन्ने गर्दछ। ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ।

एक वर्षमा करिब एकसयवटा पशु चौपाया मुख्यरुपमा गाई, गोरु किनेर गिद्धलाई खुवाउँदै आएको उनले बताए। जटायु रेस्टुरेन्टले संरक्षण गरेको क्षेत्रमा १८८ वटा गिद्ध रेकर्ड भएको चौधरीले बताए। जहाँ आठ प्रजातिका गिद्ध रहेका छन्। चार प्रजातिका अन्यत्रबाट विभिन्न मौसममा त्यहाँ आउँछन् भने चार प्रजाति रैथाने हुन्। ती चार प्रजातिमध्ये तीन प्रजातिले सोही क्षेत्र र एक प्रजातिले पाल्पा क्षेत्रमा फूल पार्ने र ओथारो बस्ने गरेको चौधरीले बताउनुभयो। वर्षमा एकपटक गिद्धले एउटा मात्र अण्डा पार्ने गर्दछ। ५५ दिन ओथारो बसेपछि वच्चा कोरल्ने गर्दछ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell