गुलरिया (बर्दिया) : बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा १६ वर्षीय बालक बेपत्ता भएका छन्।
बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन्।
बुधबार दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताए। उनी श्रेष्ठका जेठा छोरा हुन्। बालक नदीमा खसेको खबर पाउनासाथ आफूहरु घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बताए।
अहिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक थापा र शसस्त्र प्रहरी बल राजापुरका सहायक निरीक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताइएको छ।