
काठमाडौँ : अरुकै एटिएम कार्डको डाटा चोरी गरी पैसा झिक्ने गिरोहलाई सहयोग गरेको अभियोगमा पोखराको टिका रिसोर्ट लेकसाइडका सञ्चालक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले रिसोर्टका सञ्चालक टीका पौडेललाई पोखराको लेकसाइडबाट पक्राउ गरी बुधवार साँझ महाशाखा ल्याइएको महाशाखा प्रमुख एसएपी दिनेस अमात्यले बताए। 'चैत ८ गते उपत्यकाभित्र पक्राउ गरेका ८ जनालाई उनले आफ्नो स्वाइप मेसिन प्रयोग गर्न दिइएको बुझिएको छ,' अमात्यले भने, 'आजबाट बयान लिन सुरु गरेका छौं।'
महाशाखाको टोलीले चैत ८ गते राजधानीका विभिन्न स्थानबाट अरुको एटिएमको डाटा चोरी गरी स्वाइप मेसिन प्रयोग गरेर पैसा झिक्ने ८ जनालाई पक्राउ गरी सार्वजिक गरेको थियो।
पक्राउ पर्नेहरुमा ललितपुरका ३१ वर्षीय केवलबहादुर जबरा, ३१ वर्षीय अभिषेक पाण्डे, काठमाडौंका ३४ वर्षीय सुरेश केसी, ३० वर्षीय अनुज नकर्मी, २३ वर्षीय रोशन महर्जन, २३ वर्षीय रोमन मर्जन, ललितपुरका ३२ वर्षीय विजय लामा दोङ र २९ वर्षीय नदिम खान रहेका छन्।
उनीहरुले व्यापारीहरुसँग मिलेर स्वाइप मेसिन भएका पसलबाट दैनिक ५ देखि १० लाखसम्म झिक्ने गरेका थिए। यसरी झिकेको रकम मध्ये ६० प्रतिशत आफू र बाँकी व्यापारीलाई दिने गरेको खुलेको छ। उनीहरुले अनलाइनको चोर बजारबाट पैसा तिरेर एटिएमको डाटा चोरी गरी अर्को कार्डमा सारेर स्वाइप मेसिनबाट पैसा झिक्ने गरेका थिए।