
काठमाडौं : तीन सातायता बस्न नसकेको मन्त्रिपरिषदको नियमित बैठक आज पनि बस्ने/नबस्ने अनिश्चित बनेको छ।
चैत ३ गतेपछि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण जानुअघि र आइसकेपछि पनि बैठक बसेन।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले आज ३ बजे बैठक बस्ने बताइए पनि टुंगो नभएको बताए।
यसअघि उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिको वरीयता विवाद र आइजीपी नियुक्तिबारे सत्तारुढ दलबीच सहमति जुट्न नसक्दा बैठक बस्न सकेको थिएन।
आज नियमित बैठकको मिति भए पनि कति बेला बस्ने टुंगो भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
लामो समय मन्त्रिपरिषद् बैठक नबस्दा प्रशासनिक क्षेत्रका कामकारबाही प्रभावित बन्दै आएका छन्। निर्णयका लागि आएका मन्त्रालयका फाइलहरु मन्त्रिपरिषद्को कार्यालयमा थुप्रिएका छन्।