PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

सहमतिका लागि यतिन्जेल कुर्‍यौं, चालु अधिवेशन अब चाँडै टुंगिन्छ : सभामुख



रासस

सहमतिका लागि यतिन्जेल कुर्‍यौं, चालु अधिवेशन अब चाँडै टुंगिन्छ : सभामुख

काठमाडौँ : सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छिन्।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको १३६औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यकता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा सदनमै रहेकाले पनि चालु अधिवेशन जारी राख्नुपरेको उनको भनाइ छ।

आफूले सबै राजनीतिक दलबीच सहमति होस् भन्ने चाहेको उल्लेख गर्दै सभामुख घर्तीले मधेस केन्द्रित राजनीतिक दलले उठाएका विषयलाई सम्बोधन गर्न सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरिन्।

'राजनीतिक दलबीच हुने वार्ता र छलफलले नै सहमतिको वातावरण बन्ने हो,' उनले भनिन्, 'राजनीतिक दलले सहमति गरेर अगाडि बढ्नुपर्छ तर त्यसको विकल्प खोज्नु हुँदैन।'

१९ देखि २३ गतेसम्म ढाकामा अन्तर व्यवस्थापिका सङ्घको सम्मेलन भएको थियो। सम्मेलनमा १२२ देशको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell