PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

आइजिपी प्रकरणमा देउवालाई अदालतले दियो कारण देखाउ आदेश



पहिलोपोस्ट

आइजिपी प्रकरणमा देउवालाई अदालतले दियो कारण देखाउ आदेश

काठमाडौँ : सर्वोच्च अदालतले अदालतको मानहानी सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारण देखाउन आदेश दिएको छ। 

नेपाल प्रहरीको आइजिपी नियुक्ति सम्बन्धी विषयमा देउवाले दिएको अभिव्यक्तिविरुद्ध अधिवक्ता हरि मैनालीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले देउवालाई आफ्नो अभिव्यक्ति र कांग्रेस केन्द्रीय समितिको निर्णयबारे कारण देखाउन आदेश दिएको हो। 

सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडेलका अनुसार अदालतले १० दिनभित्र कारण खुलाई जवाफ पेश गर्न आदेश गरेको हो।
 
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको र सभापति शेरबहादुर देउबाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दै जाऔँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएको दाबी गर्दै मैनालीले मुद्दा दायर गरेका थिए। 

कांग्रेस केन्द्रीय समितिले अदालतले सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो। सरकारमा समेत सामेल दलको नेताको बोलीले अदालतको फैसला कार्यान्वयनमा शंका उत्पन्न गराएको दाबी मैनालीले गरेका थिए। 

मुद्दाको सुनुवाइको क्रममा बिहीबार मैनालीले देउवालाई सशरीर अदालतमा उपस्थित गराउन माग गरेका थिए। तर अदालतले भने समय दिएर लिखित जवाफ पेश गर्न आदेश गरेको हो। 

देउवाविरुद्ध मैनालीले गत चैत २० गते मुद्दा दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell