काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेशनसँग आज वाइडबडी विमान खरिदको सम्झौता गर्ने भएको छ।
सम्झौंताका लागि एएआर र पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाई कम्पनीका प्रतिनिधी नेपाल आइसकेका छन्। बिहीबार नै सम्झौंता गर्ने तयारी भए पनि सम्झौताका केही बुँदा टुंगो नलाग्दा सम्भव नभएको निगम स्रोतले बतायो। स्रोतका अनुसार शुक्रबार विहान निगम संचालक समितिको बैठक बसेपछि एएआरसँग जहाज खरीदको सम्झौता हुनेछ। यो सम्झौतापछि थप दुई जहाज आउने निश्चत हुनेछ।
यो सम्झौतालाई अन्तिम रुप दिन कर्पोरेशनका प्रतिनिधि गत साता नेपाल आएका थिए। निगमले कर्पोरेशनसँग एयरबस ३३०–२०० सिरिजका दुईवटा वाईडबडी जहाज खरिद गर्न लागेको हो। कुनै राजनीतिक र प्रशासनिक अवरोध नभएमा तोकिएको समयमा जहाज आउनेछ। निगमले टेण्डर गर्दा हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर कर्पोरेशनले ’ब्राण्ड न्यू’ जहाज दिने टेण्डर हालेको थियो।
नयाँ जहाज भएकोले सीट व्यवस्थापन गर्न पनि सजिलो भएको हो। कर्पोरेशनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउनेछ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरबससँग खरिद अर्डर गरे पनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेशनले सकारेर निगमलाई बेच्न लागेको हो।
यही अवसरको सदुपयोग गर्दै निगमले कुल दुईसय ८० सिट क्षमताका दुइवटा जहाजमा निगम सञ्चालक समितिले प्रतिजहाज १६ वटा विजनेस क्लास सीट राख्ने निर्णय गरेको छ।
१६ वटा विजनेस क्लास सिट राख्नका लागि स्वीकृति दिइसकेको र बाँकी दुईसय ६४ वटा सीट इकोनोमिक क्लासका हुनेछन्। वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नीलगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।
दुई जहाज किन्न निगमलाई सञ्चय कोषले ९ प्रतिशतमा ऋण दिन सहमत भएको छ। कोषले ९ प्रतिशत ब्याजमा ऋण दिन मौखिक सहमति गरिसकेको छ। केही दिनभित्रै निगम र कोषबीच पनि ऋण सम्झौंता हुनेछ।
निगमले जहाज खरिदका लागि कोषबाट २२ अर्ब ऋण लिनेछ। जहाज किन्न निगमले कर्पोरेशनलाई १० करोड रुपैयाँ बैना पठाइसकेको छ। जहाज खरिदका लागि पहिलो किस्ता ८ अर्ब पठाउनुपर्नेछ। यो रकम १५ दिनभित्र तिर्न कर्पोरेशनले निगमलाई आग्रह गरेको छ। सम्झौंता अनुसार निगमले २०७४ असोजमा पहिलो र चैतमा दोस्रो जहाज पाउनेछ।