नवलपरासी : नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन्।
स्थानीय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैमा सूचना जारी गरेको थियो।
यद्यपि सूचना जारी भई म्याद सकिए पनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। नवलपरासीमा विभिन्न किसिमका तीनसय ३५ थान बन्दुकलाई निजी प्रयोजनका लागि आफ्नो सुरक्षार्थ लाइसेन्स दिइएको प्रशासन कार्यालयको तथ्याङ्क छ। जसमध्ये सबैभन्दा बढी १२ बोरका दुई सय ४२ बन्दुकको लाइसेन्स दिएको जिल्ला प्रशासनले जनाएको छ।
यसैगरी भरुवा तीन, कटुई १३ र २२ बोरको राइफल पाँच थान, १२ र २३ बोरको तीन, पेस्तोल एक, बृजलोड आठ, मेनीचर दुई थानलगायत विभिन्न देशमा निर्मित विभिन्न प्रकारका बन्दुकलाई इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म कसैले पनि हातहतियार कार्यालयमा नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुझाउन स्थानीय प्रशासनले सूचित गरिएको थियो।
इजाजतपत्र लिएका व्यक्तिले लामो समयसम्म एउटा पनि हातहतियार प्रहरी कार्यालयमा नबुझाएपछि पुन: स्थानीय प्रशासन कार्यालयले पुनः सूचना जारी गरी आगामी वैशाख १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैका लागि स्थानीय प्रशासनले सूचना जारी गरेको छ।