PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

निधिको एउटा खुट्टा सिंहदरबार बाहिर, प्रधानमन्त्रीको निर्णय कुर्दै



रमेश वाग्ले

निधिको एउटा खुट्टा सिंहदरबार बाहिर, प्रधानमन्त्रीको निर्णय कुर्दै

काठमाडौँ : वर्तमान सरकारका डिजाइनरसमेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार छाड्ने तयारी गर्दै 'एक खुट्टा सिंहदरबारबाट बाहिर' टेकेका छन्। 

निधिले पार्टी सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद्‍मा भएको वरियता क्रममा आफूलाई दोश्रो स्थान नदिए सरकार छाड्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल राप्रपा अध्यक्ष कमल थापालाई दोश्रो वरियता दिन सहमति जनाएपछि निधिले विरोध गर्दै आएका छन्। 

नेपाली कांग्रेससँगको समझदारीमा बनेको सरकारमा आफूलाई वरियतामा तल-माथि गरिए तेश्रो हैसियतमा सरकारमा नबस्ने निधिले प्रधानमन्त्री र कांग्रेस सभपातिलाई बताएको स्रोतले जनायो। 

स्रोतका अनुसार निधिले वरियता विवादबारे आफ्ना निकटहरुलाई ' प्रतिष्ठामा झुकेर सरकारमा बसिँदैन' भन्ने टिप्पणी गर्ने गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्कने क्रममा मन्त्रिपरिषद्‍मा रहेको उपप्रधानमन्त्रीहरुको वरियता विवाद त्रिभुवन विमानस्थलमा सतहमा आएको थियो। स्रोतका अनुसार निधि वरियता विवादमा प्रधानमन्त्रीको निर्णय कुरिरहेका छन्। वरियतामा आफूलाई तेश्रोमा राखिए तत्काल राजीनामा दिने मुडमा निधि पुगेका छन्। पार्टीमा सभापतिलाई सरकार छाड्ने बताउँदै एक खुट्टा सिंहदरबारबाहिर टेकेका निधि प्रधानमन्त्री प्रचण्डको निर्णय लगत्तै दुवै खुट्टा बाहिर निकाल्ने कि भित्र टेक्ने निर्णय लिने तरखरमा छन्।

निधिको ठाउँमा को?
कांग्रेस स्रोतका अनुसार निधिको ठाउँमा सभापति शेरबहादुर देउवाले अरु कसैलाई मन्त्रिपरिषद्‍मा पठाउने छैनन्। उनले रमेश लेखकललाई गृहको समेत जिम्मेवारी दिन सक्ने स्रोतको दाबी छ। 


निधिले भने वरियता विवादलाई प्रतिष्ठाको लडाइँ बनाएका छन्। उनले थप 'दुई महिना सरकारमा बस्दैमा के हुन्छ र' भन्दै निकटहरुलाई बताउने गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले बिहीबार माओवादी केन्द्रको हेडक्वाटर बैठकमा समेत कांग्रेस सभापति शेरबहादुर देउवासँग दोश्रो वरियता कमल थापालाई दिने समझदारी बनेको बताएका थिए। 

निधि-देउवा दुरी बढ्यो
कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्रका लागि आयोजना गरेको छलफलमा देउवा सहभागी भएपछि बुधबार निधि बाहिरिएका थिए। देउवा र निधिको सम्बन्ध आइजिपी प्रकरणपछि चिसिँदै गएको छ। 


निधिले नवराज सिलवालालाई आइजिपी बनाउनुपर्ने प्रस्ताव गरे पनि देउवाले भने जयबहादुर चन्दलाई आइजिपी बनाउनुपर्ने बताएका थिए। चन्दलाई आइजीपी बनाउने निर्णयपछि सर्वोच्चले बदर गरिदिएको थियो। कांग्रेस केन्द्रीय समिति बैठकमा अदालतको निर्णय कार्यपालिकामाथिको हस्तक्षेप निर्णय गर्ने बेलासमेत निधिले आपत्ति प्रकट गरेका थिए। 

कांग्रेसको महाधिवेशन अघिदेखि निधि र देउवाको सम्बन्ध प्रगाढ रहँदै आएको छ। तर देउवाले अहिले उपप्रधानमन्त्रीको वरियतामा आफूलाई साथ नदिएको भन्दै निधि असन्तुष्ट रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell