काठमाठौं : श्रेयंकर साकोस काठमाडौंका सुमित पन्त पाचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन्। गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५–०.५ ले पराजीत गर्दै च्याम्पियन बनेका सुमितले १ लाख ७२ हजार ९ सय मुल्य बराबरको मोटरसाईकल प्राप्त गरे।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनसिपपको फाईनलतर्फको पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका सुमितले दोश्रो लेगमा सेतो गोटीबाट हिमाललाई बराबरीमा रोके। उपविजेता बनेका हिमालले ५० हजार नगदमा चित्त बुझाए
क्यान्डिडेटमास्टर क्षितीज भण्डारी सडेनडेथमा फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै तेश्रो भए। क्लासिकलतर्फ पहिलो लेगको खेल गुमाएका जनता साकोस ललितपुरका क्षितीजले दोश्रो लेगमा सेतो गोटीबाट अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई हराए।
टाईब्रेकका लागि भएको ब्लिज खेल समेत १–१ मा टुंगिएपछि खेलको नतिजा सडेनडेथमा आएको हो। सडेनडेथका लागि खेलाईएको ब्लिज खेलमा कालो गोटि रोजेका मनिषलाई ४ मिनेटमा बराबरीको नतिजा पर्याप्त थियो भने क्षितीजका लागि ५ मिनेटमा जित्नैपर्ने दबाब थियो। नकआउटमा तेश्रो भएका क्षितीजले ३० हजार तथा चौथो भएका मनिषले २५ हजार नगद प्राप्त गरे।
लिगतर्फको उपाधि बद्रीलाललाई
करुणामय साकोसका बद्रीलाल नेपालीले लिगतर्फको उपाधि हात पारेका छन्। १० औं चरणमा प्रतियोगिताका शिर्ष खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई हराउँदै ८.५ अंक बनाउन सफल बद्रीलालले २५ हजार नगद समेत प्राप्त गरे।
मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराउँदै ७.५ अंक बनाएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ लिगतर्फ दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे। समान ७–७ अंक बनाएका थापाथली चेस पार्कका सुशील चौधरी, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी तथा मखन चेस क्लबका सुमन लामा क्रमशः तेश्रो, चौथो तथा पाचौं स्थानमा रहन सफल भए।
भक्तपुर साकोसका राज प्रजापतिमाथि जीत हात पारेका सुशीलले १० हजार नगद प्राप्त गरे। त्यसैगरी सादना साकोस झापाका राजन सुवेदीलाई हराएका दिर्घराजले ८ हजार नगद प्राप्त गरे। स्वागतम साकोस ललितपुरका रविन्द्र शाक्यसँग बराबरी नतिजा आत्मसात गरेका सुमन लामाले ७ हजार नगद प्राप्त गरे।
कामना साकोसका जनार्दन श्रेष्ठ, काठमाडौका भगवतीप्रसाद शर्मा, मच्दिन्द्र क्लबका सुरवीर लामा, नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ तथा स्वागतमका रविन्द्र शाक्य समान ६ दशमलब ५ अंकका साथ क्रमशः छैठौंदेखि दशौं स्थानमा रहे।
जनता साकोसका सिन्दिरा जोशीले महिलातर्फ पहिलो हुँदै १० हजार नगद प्राप्त गरिन। अर्थ बहुउद्देश्यीय ललितपुरका सविना श्रेष्ठ, काठमाण्डौका विनिता कपाली, चितवनका लक्ष्मी कँडेल तथा ललितपुरका नोज्मी खड्का क्रमशः महिलातर्फ दोश्रो देखि पाचौं स्थान हासिल गर्न सफल भए।
थापाथली चेस पार्कका रामहरी कार्की अनरेटेडतर्फ उत्कृष्ट भए। त्यसैगरी ललितपुरका सुरज सिंह अनरेटेडतर्फ दोश्रो भए।
अन्नपूर्ण उच्चमाविका दिपेन्द्र गमाल १९ वर्षमुनि उत्कृष्ट भए। श्रमजीवी साकोस भक्तपुरका गणेशमान दुवाल भेट्रानतर्फ पुरस्कृत भए। नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका सुदर्शन प्रधानले उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार प्राप्त गरे। सारथी साकोस दोलखाका आशिष फुँयालले २ हजारभन्दा मुनि रेटिङ समुहमा तथा झापाका अनिश कुमार सुवेदीले १८ सय मुनि रेटिङसमुहको पुरस्कार प्राप्त गरे।
कुल ४ लाख ९८ हजार ४ सय पुरस्कार राशी रहेको प्रतियोगितामा ८० खेलाडीको सहभागीता रहेको थियो। लिग तथा नकआउट दोहोरो प्रणालीमा सम्पन्न प्रतियोगिताका विजेतालाई व्यवस्थापीका संसद सदस्य चन्द्र महर्जनले पुरस्कृत गरे।