PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

आउने भयो दुई वटा वाइडबडी जहाज, निगमले गर्‍यो खरिद सम्झौता



उमेश पौडेल

आउने भयो दुई वटा वाइडबडी जहाज, निगमले गर्‍यो खरिद सम्झौता

काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग दुईवटा वाइडबडी जहाज खरीद सम्झौता गरेको छ।

जहाज खरीद सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तर्राष्ट्रिय सप्लार्इ चेन प्रेसिडेन्ट दीपक शर्माले हस्ताक्षर गरे।

‘जहाज खरीद सम्झौता भएको छ, यो सम्झौता नेपाली पर्यटन क्षेत्रको लागि कोशेढुंगा सावित हुनेछ’ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने। मन्त्रालय, निगम संचालक समिति र व्यवस्थापनको लामो छलफलपछि सम्झौतापत्रको बुँदा तयार पारिएको थियो।

बिहीबार र शुक्रबारको छलफलमा जहाज खरीदमा कुनै कानुनी अड्चन नआउने गरी बुँदा समेटिएको स्रोतले बतायो। जहाज खरीद सम्झौताको बुँदालार्इ अन्तिम रुप दिएर स्वीकृति दिन निगमको संचालक समितिको बैठक बिहान ८ बजेदेखि दुर्इ बजेसम्म चलेको थियो। सम्झौतालार्इ अन्तिम रुप दिन अघिल्लो साता एएआर कर्पोरेशनका प्रतिनिधि नेपाल आएका थिए।

सम्झौता अनुसार एएआरले एयरबस कम्पनीको ए ३३०–२२० सिरिजका दुर्इवटा वाइडबडी जहाज निगमलार्इ दिनेछ। सम्झौता अनुसार निगमले २८ दिनभित्रै ८ अर्ब रुपैयाँ पठाउनुपर्नेछ। दुवै जहाजका लागि एकै किस्तामा यो रकम पठाउनुपर्ने प्रावधान सम्झौतामा उल्लेख छ। निगमले टेण्डर गर्दा हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर कर्पोरेसनले 'ब्राण्ड न्यू' जहाज दिने टेण्डर हालेको थियो।

नयाँ जहाज भएकोले सीट व्यवस्थापन गर्न पनि सजिलो भएको हो। कर्पोरेसनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने छ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरबससँग खरीद अर्डर गरे पनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेसनले सकारेर निगमलाई बेच्न लागेको हो। कुल दुई सय ८० सिट क्षमताका दुईवटा जहाजमा १६ वटा विजनेस क्लास सीट हुनेछ।

१६ वटा विजनेस क्लास सीट राख्नका लागि स्वीकृति दिइसकेको र बाँकी दुई सय ६४ वटा सिट इकोनोमिक क्लासका हुने उनले बताए। वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नीलगायत चीनका विभिन्न गन्तव्यमा सीधा उडान गर्ने लक्ष्य राखेको छ।

जहाज आउन ढिला 

बैना ढिला भएकाले जहाज ६ महिना ढिला आउने भएको छ। महाप्रबन्धक कंसाकारले बैना पठाउन ढिला भएका कारण चैतमा मात्रै जहाज आउने जानकारी दिए। टेण्डरमा सहभागी हुँदा असोजमा पहिलो जहाज र दोस्रो जहाज चैतमा दिने एएआरले प्रतिबद्धता गरेको थियो। उनका अनुसार अब दुवै जहाज चैतमा आउनेछ।

सम्बन्धित समाचार 
एनएसीको वाइडबडी खरिद सम्झौता आज, असोजमा पहिलो जहाज आउने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell