PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

बुद्धिजीवीलाई ओलीको अर्को प्रहार, 'फर्सी'पछि दिए 'हिप्पोपोटामस'को नाम



पहिलोपोस्ट

बुद्धिजीवीलाई ओलीको अर्को प्रहार, 'फर्सी'पछि दिए 'हिप्पोपोटामस'को नाम

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीको बुद्धिजीवीहरुमाथिको आक्रोश कायमै छ। केही अघि फर्सी बुद्धिजीवीको प्रसंग सुनाएर हँसाएका ओलीले आज भने हिप्पोपोटामस भन्दै उडाएका छन्। 

एमालेको भ्रातृ संगठन जनसांस्कृतिक महासंघको २९ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै ओलीले बुद्धिजीवीको बखान यसरी गरे-

हाम्रा बुद्धिजीवी के भएका होलान्, नाम हेर्दा हिप्पोपोटामस जस्तो लाग्छ। न काम लाग्छ न बोकेर हिंड्न मिल्छ। ठूलो भएर पनि हात्तीले त बोकेर हिंड्छ नि। खाग काम लाग्छ, त्यो पनि छैन। काम चाहीँ केही पनि छैन। नामको, प्रसिद्धिको यत्रो ज्यान छ। क्षमताको ज्यान भारीभरकम छ। तर, त्यो प्रसिद्धिको ज्यान अनुसार त्यसले उत्पादन गरिराख्या छैन कि। हाम्रा भीमकाय बुद्धिजीवीहरु, नामका भीमकाय भन्या हुँ है फेरि, साइजको कुरा गर्‍या होइन । 

हिप्पोपोटामस जलगैँडाको अङ्ग्रेजी नाम हो। नेपालमा हिप्पोपोटामस पाइँदैन तर जावलाखेलको चिडियाघरमा थाइल्यान्डबाट ल्याइएका हिप्पो हेर्न पाइन्छ। 

यसअघि चैत ८ गते मेची महाकाली अभियान समापनको कार्यक्रममा ओलीले बुद्धिजीवीसित फर्सीको प्रसंग यसरी जोडेका थिए-

कोही कोही बुद्धिजिवी 'फर सी' मात्र छन्। 

एउटा अमेरिकनले रत्नपार्कमा देखेछ ठूलो फर्सी। किन्न खोजेछ। के हो यो भनेछ। बेच्ने मान्छेलाई त थाहा थिएन 'पम्पकिन' (फर्सी) भन्ने। 

उसले भन्यो – फर्सी।

अमेरिकनले भन्यो – 'फर सी।'

उसले लिएर गयो। जतनसँग हावा नआउने गरी सिसाको फ्रेममा राख्यो। अलि पछि बाहिरसम्म गन्ध आउन थाल्यो। के भएछ भनेर उसले छोइहेरेछ। फर्सी त भित्रभित्र खतम भएको रहेछ। 

अमेरिकनले सम्झियो - ए मलाई भन्न त भनेको थियो – फर सी,  मैले छोएँ। छोएपछि प्वाल पर्यो । त्यसकारण पो बेच्नेले 'फर सी' (हेर्नका लागि) भनेको रहेछ।

'नट टू टच। फर सी।'

उसले जानेछ - फर्सी। 

नेपालमा पनि 'फर सी' बुद्धिजीवीहरु छन्। फर्सी बुद्धिजिवीहरु चलाउनका काम छैन, छाड्दिनुहोस्। 

ती बुद्धिजीवी स्वस्ती श्री गिरिराज चक्र चुडामणि लेख्छन् कहिले श्रीमान् गम्भीर लेख्छन्। त्यो मजदुर किसानले लेखेको होइन, बुद्धिजीवीले लेखेको हो।  

 

बुद्धिजीवीप्रति ओलीको आक्रोश प्रधानमन्त्री हुँदैदेखिको हो। गत जेठमा प्रधानमन्त्री हुँदा प्रेस चौतारी नेपालको आठौँ अधिवेशनको उद्घाटन गर्दै उनले भनेका थिए-  
 
विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ । यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्या हो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन, तर विद्वान् भनिनेहरू, बुद्धिजीवी कहलाउनेहरू आत्तिएका छन् । पढे–लेखेका हौँ भन्नेहरू केही छट्पटाएका छन् । आज मात्रै पनि एकजना बुद्धिजीवीले चटपट–सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ । के–के गर्ने भयो अब भन्ने भएछ । 

रक्सौलसम्म अरूको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चटपटे लाग्छ । केटाकेटीलाई पढाइन्छ, पछि विद्वान् हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ? स्कुल हालेकै दिन खोइ त विद्वान् भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजीवीका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजीवीबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्विट गर्‍यो । सारा दुनियाँलाई भ्रममा पार्‍यो । कसैले ए अँ भनिदियो भने छाती फुलायो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell