काठमाडौं : भुटानी शरणर्थीहरुको वास्तविक कथामाथि बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’को ट्रेलर र गीत सार्वजनिक भएको छ।
पूर्वी नेपालमा अवस्थित भूटानी शरणार्थी शिविरमाथि निर्माण गरिएको उक्त फिल्म शरणार्थीहरुसँगको सम्बन्ध संवेदनाले निर्माण गर्न प्रेरित गरेको फिल्मका निर्देशक तथा लेखक प्रकाश आङदेम्बेले बताए। आफू पनि त्यहीँ हुर्केकाले भुटानी शरणार्थीसँग नजिकबाट सम्बन्ध गाँसिएको उनीहरु तेस्रो मुलुकमा रुँदै जाँदाको क्षणले निकै संवेदित बनाएको अनुभव समेत सुनाए। सुरुमा भुटानी शरणार्थीहरुले भोगेको जीवनलाई कसरी दस्तावेजीकरण गर्ने भन्ने द्विविधा भएको र पछि यसलाई दीर्घकालीन दस्तावेजको रुपमा फिल्मको माध्यममबाट प्रस्तुत गरेको उनको भनाइ छ।
फिल्मका पटकथाकार उपेन्द्र सुब्बाले फिल्म निर्माण र प्रदर्शनका लागि यत्ति लामो समय लाग्नुको पछाडि प्रकाश आङदेम्बेले फिल्मका लागि गरेको मेहनत कारण रहेको बताएका छन्।
ट्रेलरमा भुटानी शरणार्थीहरुले गरेको आन्दोलन, उनीहरुले भोगेको दुःख र उनीहरुले नेपाललाई छोडेर तेस्रो मुलुक जानु पर्दाको पीडालाई देखाइएको छ। फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, अरूणा कार्की, सरीता ओली, मीना कोइराला, एलपी जोशी, केशव आचार्य, शिवशङकर थापा, धनकुटे कान्छा, रामकुमार चाम्लिङ, तिब्बत राई, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायतले अभिनय गरेका छन् भने एसोसएिट डाइरेक्टरका रुपमा साम्तेन भुटिया रहेका छन्।
फिल्ममा श्रवण मुकारुङको गीत र आभासको संगीतमा स्वरुपराज आचार्यले स्वर दिएका छन्। संजय लामाको सिनेमाटोग्राफी रहेको फिल्मलाई मनोरञ्जन श्रेष्ठले सम्पादन गरेका हुन्।
यसअघि नेपालबाहिर थुप्रै देशमा फिल्मको प्रदर्शन भइसकेको छ। आगामी जेठ १२ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ।