
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताएका छन्।
नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई आज भक्तपुरको ठिमीमा सम्बोधन गर्दै उनले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताए।
स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाउँदै उनले मधेस केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा जोड दिए।
'जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने, निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र मतदाता नामावली थप गर्नुपर्ने मधेस केन्द्रित दलको माग राष्ट्रिय हितमा छैन, यसलाई प्रमुख ठूला दलले मान्नु हुँदैन्,' उनले भने, 'ठूला दलहरुले प्रजातान्त्रिक मूल्य र मान्यता विरुद्ध थ्रेसहोल्डको व्यवस्था गरिएको छ।'
अध्यक्ष बिजुक्छेले समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान अप्रजातान्त्रिक भएको तर्क गरे। 'यसलाई नेमकिपाले सिद्धान्त र व्यवहार दुवै ढङ्गले मान्दैन, यो काँचो धागो मात्र हो,' उनको भनाइ थियो।