PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

मोर्चालाई फकाउन प्रधानमन्त्रीले तयार पारे संविधान संशोधनको नयाँ प्रस्ताव



पहिलोपोस्ट

मोर्चालाई फकाउन प्रधानमन्त्रीले तयार पारे संविधान संशोधनको नयाँ प्रस्ताव

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चाले समेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको जानकारी दिएका छन्।

शनिबार राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने 'आजै मैले अर्को नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ।'

उनले देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए।

मधेसी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, 'वैशाख ३१ मै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा अब कुनै प्रश्न बाँकी छैन, १९ वर्षपछि फरक संरचनामा हुन लागेको स्थानीय तहको निर्वाचन राष्ट्रिय एकता र सहमतिका साथ उत्सवमय वातावरणमा हुन्छ।'

प्रधानमन्त्रीले विज्ञान र प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको संख्यात्मक मात्रै नभई गुणात्मक परिवर्तन भएको बताउँदै यसले राजनीतिक चेतना र सामाजिक जागरण बढाएको औँल्याए। उनले आफू प्रधानमन्त्री बने यता भएके सकारात्मक पहलस्वरुप अहिले झण्डै ६ प्रतिशत आर्थिक बृद्धि हुन सकेको तथा दिनको अठार बीस घण्टाको लोडसेडिङ हटेर अब केही वर्षमै नेपालले विदेशीलाई बिजुली बेच्ने अवस्था सिर्जना हुन लागेको दाबी गरे। 

प्रधानमन्त्रीले अगाडि भने ‘रोकिएका हुलाकी राजमार्ग निर्माण भैरहेको छ, उत्तर र दक्षिणतिरबाट रेल ल्याउने गरी काम सुरु हुँदैछ। नेपालमै रोजगारी सिर्जना हुँदैछ। महाकालीमा पुल बन्दैछ, ठूला ठूला विकासका आयोजनाहरु गतिका साथ अघि बढेका छन्। यसरी राजनीतिक स्थिरता बनाएर ५ वर्ष एउटा सरकारलाई कामगर्न मौका दिने हो भने, मुलुकको विकासको लागि काम गर्न सकिन्छ।’

उनले आफ्ना भारत र चीनको भ्रमणमा छिमेकीसँग असल सम्बन्ध निर्माणको लागि काम गरेको बताउँदै आफूले नेपालको राष्ट्रियता र स्वाधिनतालाई केन्द्रविन्दुमा राखेर सुमधुर सम्वन्ध कायम गरेको प्रस्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell