
हेटौँडा : चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर–६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ।
मृत्यु भएकामध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्माको सनाखत भएको छ। अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।