PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

वरीयता विवाद : देउवाको आग्रहमा तत्काललाई रोकियो गृहमन्त्रीको राजीनामा



पहिलोपोस्ट

वरीयता विवाद : देउवाको आग्रहमा तत्काललाई रोकियो गृहमन्त्रीको राजीनामा
फाइल फोटो

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा तत्काललाई रोकिएको छ। निधिले वरीयता विवाद पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउने विषय भन्दै बिहीबार कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग परामर्श गरेका थिए। परामर्शपछि राजीनामाको मुडमा निधि पुगेका थिए। 
तर, देउवाको सुझावपछि निधिको राजीनामाको सम्भावना तत्काललाई टरेको छ।

आफ्नो अडानका पक्षमा समर्थन रहेको भन्दै त्यसलाई सम्मान गर्न पनि आफुले राजीनामा गर्नुपर्ने अवस्था आएको निधिले मन्त्रीहरुसँगको परामर्शमा बताएका थिए। 

पछिल्लो चरण कमल थापाले वरीयता नमिलाए सरकार छोड्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच थापालाई वरीयतामा अघि राख्ने समझदारी बनेको थियो। सभापित र प्रधानमन्त्रीबीच वरीयता विवादमा कुरो मिलेको खबरपछि निधिले
बिहीबार मन्त्रीहरुको बैठक गृह मन्त्रालयमा राखेका थिए। 

तर, शुक्रबारको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकअघि सभापति देउवाले निधिलाई छुट्टै भेटेर राजीनामा नदिन र पार्टीभित्रको विषय पार्टी भित्रै समाधान गर्ने प्रस्ताव राखेका थिए। 

सभापति देउवाले निधिसँगको भेटमा राजीनामा नदिन आग्रह गरेको निधिका प्रेस विज्ञ रामजी दाहालले पुष्टि गरे। ‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि सभापति शेरबहादुर देउवा र उप–प्रधानमन्त्री निधिबीच कुराकानी भयो’ दाहालले भने, ‘भेटमा सभापतिजीले राजीनामाको मुड नबनाउन र सरकारमा बसेर चुनाव गराउन आग्रह गर्नुभएको छ।’ 

कांग्रेसका एक सांसद्ले सभापतिसँगको भेटपछि निधिको राजीनामा स्थगन भएको बताए। ‘सभापतिले नै आग्रह गरेर उप–प्रधानमन्त्री निधिसँग करिव एक घण्टा कुराकानी गर्नुभएको छ’, कांग्रेसका एक सांसद्ले भने, ‘सभापतिजीले राजीनाको विषयमा कुनै तयारी नगर्न र सरकारमा बसेर काम गर्नका लागि आग्रह गर्नुभएको जानकारी हामीले पाएका छौ।’ 

नेपाल प्रहरीमा आइजिपी नियुक्तिदेखि सभापति शेरबहादुर देउवासँग खटपट सुरु भएको थियो। निधि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री दाहालले उप-प्रधानमन्त्री कमल थापालाई मन्त्रीपरिषदमा दोस्रो हैसियत दिएर बैठक राखेपछि निधिले असहमति जनाएका थिए। निधिको असहमतिपछि वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। 

वरीयता विवादमा प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल गरिसकेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell