
काठमाडौं : वरीयता विवादका कारण तीन सातादेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्।
प्रधानमन्त्रीले बोलाएको बैठकमा वरीयता विवादका कारण उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि भने नजाने भएका छन्।
निधि निकट स्रोतले भन्यो ‘वरिष्ठताका विषयमा उठाएको अडान कायम राख्दै मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने निर्णय भएको छ।’
पछिल्लो तीन सातायता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। यसअघि बोलाइएका तीनवटा बैठक विवादकै कारण स्थगित भएका थिए।
राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि मन्त्रिपरिषदमा वरीयता विवाद चुलिएको छ। सुरुवातका केही बैठकमा विवाद नभए पनि गृहमन्त्री निधि भारत भ्रमणमा रहेका बेला थापालाई दोस्रो वरीयता दिएपछि विवाद चुलिएको थियो। वर्तमान सरकारका डिजाइनरका रुपमा चिनिएका निधिलाई तेस्रो हैसियतमा पु¥याइएपछि मन्त्रिपरिषद् वरीयता विवादमा फसेको हो।
सरकारमा तेस्रो वरीयतमा हुँदा संसद्को सबैभन्दा ठुलो पार्टीको प्रतिष्ठामा आँच आउने भन्दै निधिले राजीनाको चेतावनी दिएका थिए। तर, सभापति शेरबहादुर देउवासँगको परामर्शपछि उनको राजीनामा आएको छैन।
निधिको अनुपस्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राख्छन् त्यो भने प्रधानमन्त्रीको निर्णयपछि मात्र जानकारी हुने छ।