
काठमाडौं : उपप्रधानमन्त्रीको वरीयताका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने भएको छ।
दिउँसो ३ बजेका लागि डाकेको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो ३ बजेका लागि सारेका हुन्।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला अर्का उपप्रधानमन्त्री कमल थापालाई दोस्रो हैसियतमा राखेका प्रधानमन्त्री दाहालले त्यही कारण तीन सातायता मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन्। चैत ३ गतेपछि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन। प्रधानमन्त्री दाहाल चीन भ्रमण जानुअघि र आइसकेपछि पनि बैठक बसेन।
यस अघिका बैठक पटकपटक तोक्दै/सार्दै गरेका प्रधानमन्त्रीले आजको बैठक पनि सारेका हुन्। नियमित रुपमा सोमबार र बिहीबार बस्दै आएको बैठक प्रधानमन्त्रीले आज ३ बजेका लागि बोलाएका थिए।
राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि उनलाई चौथो हैसियतमै राखेर मन्त्रिपरिषद् बैठक राखेका प्रधानमन्त्रीले निधिलाई एकाएक तेस्रो हैसियतमा पुर्याएपछि बैठक राख्न सकेका छैनन्।
बैठक बस्न नसक्दा मन्त्रिपरिषद्ले नियुक्त गरेका आइजी सर्वोच्चले बदर गरेकाले अर्को नियुक्ति प्रक्रिया समेत अवरुद्ध बनेको छ।त्यस बाहेकका नियमित काम समेत प्रभावित भएका छन्।