PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१३ हजार वैध हतियारमध्ये १४ वटा मात्र बुझाइयो, अटेर गर्दै प्रधानमन्त्री-पुत्र



सविन ढकाल

१३ हजार वैध हतियारमध्ये १४ वटा मात्र बुझाइयो, अटेर गर्दै प्रधानमन्त्री-पुत्र

काठमाडौं : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थालाई ध्यान दिई सरकारले वैध हतियार समेत फिर्ता लिने निर्णय गर्‍यो। गृह मन्त्रालयले जारी गरेको सूचनामा निर्वाचन अवधिभरका लागि हतियार फिर्ताको माग गरिएको छ। तर महिना दिन हुनै लाग्दा निकै कमले मात्र हतियार बुझाएका छन्।

देशभरबाट करिब ३५ हजार वटा हतियारको लागि प्रशासनबाट स्विकृति लिएको देखिन्छ। तथ्याङ्क अनुसार पेस्तोल ३१२ वटा, रिभल्वर ११७, १२ बोरको बन्दुक १३ हजार ८९२, २२ बोरको बन्दुक ४ हजार ६६१, भरुवा बन्दुक १२ हजार ९१, हावादारी बन्दुक एक हजार १० वटा र अन्य २ हजार २३१ वटा हतियार प्रशासन कार्यालयमा दर्ता भएका छन्। सबैभन्दा बढी काठमाडौं जिल्लाबाट हतियार राख्न अनुमति लिइएको छ। काठमाडौं प्रशासनले मात्र १३ हजार ३२२ वटा वैध हातहतियार राख्न अनुमति दिएको छ।

१३ हजारले हतियार राख्ने अनुमति लिए पनि हतियार फिर्ता गर्ने सूचना जारी गरेको यतिका समय भइसक्दा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ४ वटा हतियार मात्र फिर्ता आएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ प्रेमप्रसाद लुइँटेल हतियार फिर्ता गर्नेको संख्या एकदमै कम रहेको बताउँछन्। 'हामीले स्थानीय प्रहरी चौकीमा समेत हतियार फिर्ता गर्न सकिने भनेका छौं त्यसैले केही हतियार प्रहरीकहाँ पनि बुझाएको हुनुपर्छ,' उनले भने।

महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझ्दा अहिलेसम्म १० वटा मात्र हतियार बुझाइएको महाशाखाका डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। यसरी फिर्ता आएको हतियारमा रिवल्भर र हर्नेट रहेको छ।

सरकारले रिभल्वर, भरुवा बन्दुक, १२ बोर र २२ बोर, हावादारी बन्दुक लगायतका हातहतियार राख्न अनुमति दिएको छ। देशका सीमा क्षेत्रमा निर्वाचन अवधिमा यस्ता वैध हतियार झनै सुरक्षा चुनौतीका रुपमा हेरिएको छ। वैध हतियार राख्नेमा नेता, उद्योगी, गुन्डा नाइकेदेखि टोले गुन्डासम्म छन्।

प्रधानमन्त्री पुत्रले पनि हतियार बुझाएनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालसँग लाइसेन्सप्राप्त बन्दुक छ।

उनले एक महिनाअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २२ बोरको बन्दुकका लागि अनुमति लिएका थिए।


गत चैत ३ गते काठमाडौं प्रशासनले 'कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन अनुरोध छ' भन्दै सूचना जारी गर्‍यो। एक लाख ५० हजार रुपैयाँमा हतियार लिएको दाबी गर्दै आएका प्रकाशले समेत प्रशासनको सूचनाको अवज्ञा गर्दै अहिलेसम्म हतियार बुझाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell