PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

क्रिकेटको शहर धनगढीबाट कप्तान पारसको पुनरागमन



पहिलोपोस्ट

क्रिकेटको शहर धनगढीबाट कप्तान पारसको पुनरागमन
फोटो : धनगढी प्रिमियर लिगको फेसबुकबाट

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको भनाइ मान्ने हो भने धनगढी प्रिमियर लिग डीपिएल नेपालकै सबैभन्दा ठूलो क्रिकेट टुर्नामेन्ट हो।

उनै पारस पेटको शल्यक्रियापछि यसै टुर्नामेन्टमार्फत क्रिकेट मैदानमा पुनरागमन गर्दैछन्।

यो राजधानी काठमाडौं बाहिर हुँदैछ। नेपालमा पहिलो पटक पूर्ण अक्सन (खेलाडी लिलामी) को आधारमा टिम तयार पारिएको र सर्वाधिक पुरस्कार राशी भएको टुर्नामेन्ट हो- डीपिएल।

धनगढीलाई क्रिकेटको शहरको रुपमा चिनाउन लागि परेको धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीको संयुक्त प्रयासमा यो टुर्नामेन्ट आजबाट धनगढीमा सुरु हुँदैछ।

पहिलो दिन आइतबार नेपाल-११ र धनगढी-११ बीच च्यारिटी खेल हुँदैछ। यसै खेलमार्फत डीपिएलको सुरुवात पनि भइसकेको छ।

च्यारिटी खेलबाट संकलन भएको रकम खर्च बचाएर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण (ड्रिम फाप्ला) अभियानमा खर्च गरिनेछ।

नेपाल-११ को कप्तानी पारस खड्काले गरिरहेका छन् भने धनगढी-११ को कप्तानी पदम केसीले सम्हालेका छन्।

एपेन्डिक्सको शल्यक्रिया गरेपछि पारसले गत फागुनको अन्त्यमा घरेलु मैदानमा केन्याविरुद्ध भएको डब्लुसिएलको दुई खेल खेलेका थिएनन्।

यस पटक फिट भएर मैदान फर्केका पारसले बलिङ भने गर्ने छैनन्। डीपिएलमा पारसले टिम चौराह धनगढीको नेतृत्व गर्नेछन्। पारसको टिम चौराहले मंगलबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्ससँग खेल्दै डीपिएलको सुरुवात गर्नेछ।

पारसले पछिल्लो पटक गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता एपीएफको तर्फबाट क्रिकेट खेलेका थिए। त्यसयता टिमसँगै रहेका पारसले प्रतियोगितात्मक खेल भने खेल्न पाएका थिएनन्।

डीपिएल लगत्तै काठमाडौंमा हुने गोर्खा राइनोज र लकन लायन्सबीच हुने ३ टी-२० खेलमा पनि पारसले गोर्खा राइनोजको कप्तानी गर्नेछन्। सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका सनथ जयासूर्या, चामिन्दा भास, अरबिन्द डा शिल्भालगायत वर्तमान टिममा रहेका रगना हेराथ, उपुल थरगा, सचित्रा सेनानायकेजस्ता खेलाडी श्रीलंकन टिमबाट खेल्न नेपाल आउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell