PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

प्रधानमन्त्रीले भने, 'प्रदेशमा कर तिरेपछि केन्द्रमा तिर्नुपर्दैन'



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने, 'प्रदेशमा कर तिरेपछि केन्द्रमा तिर्नुपर्दैन'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संघीय ढाँचामा उद्योग व्यवसायीले दोहोरो तेहेरो कर तिर्नु नपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई राजधानीमा आज सम्बोधन गर्दै उनले एक प्रदेशमा कर तिरेपछि अर्कोमा तिर्नु नपर्ने बताए। संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने उनको भनाइ छ।

प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताएका हुन्।


प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बनेपछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवर्द्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको बताएका छन्।

साथै उनले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफियासम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनर्स्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि बढाइएको जानकारी दिए।

प्रधानमन्त्रीले देश पूरै स्थानीय तहको निर्वाचनमा होमिइसकेकाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा सबैमा आ-आफ्नो तह र तप्काबाट हरतरहले सहयोग गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell