PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कुलमानसहित १२ जनालाई उद्योग वाणिज्य महासंघको अवार्ड



पहिलोपोस्ट

कुलमानसहित १२ जनालाई उद्योग वाणिज्य महासंघको अवार्ड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्वर्ण वर्षको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ। निजी क्षेत्रको प्रवर्धनमा अमूल्य योगदान दिएको भन्दै दुई जना व्यवसायीलाई मरणोपरान्त सहित व्यावसायिक क्षेत्रका छ र सामाजिक क्षेत्रका चार जनालाई महासंघले ‘गोल्ड अवार्ड’प्रदान गरेको हो।

उद्योग क्षेत्रबाट स्वर्गीय रामलाल गोल्छा र सेवामूलक व्यवसायबाट स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको हो। गोल्छाले विराटनगरमा जुट उद्योग स्थापना गरेका थिए। श्रेष्ठ मनकामना केवलकारका प्रवर्धक हुन्।

व्यावसायिक क्षेत्रबाट ‘एफएनसिसिआई गोल्ड अवार्ड’पाउनेमा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर राणा, पर्यटन व्यवसायी कर्ण शाक्य, कान्तिपुर पब्लिकेन्सका अध्यक्ष कैलाश सिरोहिया, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन व्यवसायी नकिम उद्दीन र सूचना प्रविधि क्षेत्रबाट रुद्रराज पाण्डे छन्।

आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत उनीहरुलाई सम्मान गरेको महासंघको अवार्ड छनौट समितिका संयोजक रञ्जित आचार्यले जानकारी दिए।

सामाजिक क्षेत्रबाट अवार्ड पाउनेमा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, तिलगंगा आँखा केन्द्रका चिकित्सक सन्दुक रुइत, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन्।

सबै जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell