काठमाडौं : दुई उपप्रधानमन्त्रीको वरीयता विवादका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आज बल्ल बस्ने भएको छ। तर, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि बैठकमा नजाने भएका छन्।
बैठक बस्नेबारे बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निधिबीच वार्ता भएको थियो। सो क्रममा उपप्रधानमन्त्रीको वरीयताको विषयभन्दा पनि संविधान संशोधनको नयाँ प्रस्तावबारे बैठकमा छलफल हुने प्रधानमन्त्रीले जानकारी गराएको निधिका सहयोगीले बताए।
अहिले निधि आफ्नै मन्त्रालयमा बसिरहेका छन्। प्रधानमन्त्री पनि बैठकमा पुगिसकेका छैनन्।
नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न दाङ जान लागेका निधिलाई प्रधानमन्त्रीले बिहान रोकेका थिए। हिजो कैलालीबाट कांग्रेसले सुरु गरेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन दाङ जान टिकटसमेत लिएर बसेका निधिले प्रधानमन्त्रीकै आग्रहमा टिकट रद्द गरेर बसेका हुन्।
सरकारमा दोस्रो हैसियतमा रहेका निधि भारत भ्रमणमा रहेका बेला गएको गत ३ गते प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्ष तथा उप्रधानमन्त्रीसमेत रहेका संघीय मामिला र स्थानीय विकास मन्त्री कमल थापालाई दोस्रो हैसियतमा राखेर मन्त्रिपरिषद् बैठक गरेपछि त्यस यता बैठक बस्न सकेको छैन।
निधिले विगतमा सरकार गठन हुँदा बखत नै भएको सहमतिअनुसार नेपाली कांग्रेस सरकारमा दोस्रो हैसियतमा हुने सहमति प्रधानमन्त्रीले उलङ्घन गरेको भन्दै निधि बैठकमा गएका छैनन्। त्यही कारण प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् बैठक सारिरहेका छन्।
नेपाल प्रहरीको आइजीमा डिआइजी जयबहादुर चन्दलाई गरेको बढुवा सर्बोच्च अदालतले बदर गरिदिएपछि मन्त्रिपरिषद् बैठक नबसेकै कारण अर्को निर्णय हुन सकेको छैन। मन्त्रिपरिषद्ले बढुवाका विषयमा निर्णय गर्न नसक्दा नेपाल प्रहरीको संगठन नै प्राविधिकतर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेलले नेतृत्व गर्नुपरेको छ।