
चर्चित भारतीय गजल गायक जगजित सिंहकी पत्नी तथा गायिका चित्रा सिंहले २७ वर्षपछि फेरि गायन क्षेत्रमा फर्किने निर्णय लिएकी छिन्। उनी १५ अप्रिलमा काशीको संकटमोचन संगीत समारोहमा लाइभ प्रस्तुति दिने भएकी हुन्।
यसै क्रममा चित्राले आफ्ना पति जगजित सिंहलाई भारत रत्न सम्मान दिलाउनको लागि माग पनि गर्नेछिन्। उनले यसअघि पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीसित पनि यस्तो माग गरिसकेकी छिन्।
लामो समय कायम रहेको जगजित र चित्राको युगल सङगीत यात्रामा सन् १९९० मा एकाएक बिराम लागेको थियो। त्यतिबेला उनका छोराको सडक दुर्घटनामा मृत्यु भएको थियो। यस घटनापछि चित्राले सधैँका लागि गाउने काम बन्द गरेकी थिइन्। सन् २००९ मा छोरीले आत्महत्या गरेपछि उनी झनै मानसिक रुपमा विक्षिप्त बनिन्।
सन् १९६९ मा प्रणयसूत्रमा बाँधिएका उनीहरुको छोरा विवेकको जन्मसँगै युगल गायन–यात्रा अगाडि बढेको थियो। गजल सङ्गीतमा पाकिस्तानी गायकहरूको वर्चस्व रहेको समयमा आएको ‘द अन्फोर्गटेबल’ एल्बमले यो जोडीलाई त्यति बेला गजल गायनका सितारा नै बनाएको थियो। त्यसपछि पनि उनीहरुले लोकप्रिय गीत/गजलहरु गाउने काम गरेका थिए।
सम्बन्धित सामग्री
जगजित जन्मजयन्ती : पारिवारिक वियोग खेपेका मखमली आवाजका जादूगर