काठमाडौं : आज हास्य कलाकार केदार घिमिरे (माग्ने बुडा) ले आज ४३ औँ जन्मदिन मनाएका छन्। उनले रेडियो अडियो बानेश्वरमा सहकर्मीसँग जन्मदिन मनाएका हुन्।
केदार घिमिरेको जन्मदिन विशेष कार्यक्रममा कलाकारहरु दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरेलगायतको उपस्थिति रहेको थियो। निर्देशकसमेत रहेकी दीपाश्री निरौलाले कार्यक्रममा भनिन्, 'केदारको सु–स्वास्थ्य र दिर्घायुको कामना गर्छौं। जन्मदिन त रमाइलो गर्ने बाहाना मात्र हो।' त्यस्तै दीपकराज गिरीले माग्ने बुडा आफ्नो लागि हरेक अवस्थामा उपलब्ध भइदिने बताए। 'उ मेरो एटिएम कार्ड हो। सधैं मसँगै हुन्छ', दीपकले ठट्यौली भावमा केदार बिरामी भएको प्रसङ्ग जोडे, ‘गत वर्ष धेरै नै घोटे छु कि क्या हो, घोट्दा घोट्दै स्क्रयाच भएछ।’
केदार घिमिरे केही समयअघि डिप्रेशनका कारण बिरामी अवस्थामा थिए। दीपकले भावुक हुँदै थपे, ‘हामीबीच भावनात्मक सम्बन्ध छ। पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एकता छ। पहिले–पहिले हामीबीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो।'
केदार घिमिरेले पनि जन्मदिनलाई खास बनाइदिने हरेकलाई कृतज्ञता व्यक्त गरे।
मेरी बास्सै टेलिश्रृङ्खलाबाट चर्चामा आएको माग्नेबुडालाई उनका सहकर्मी सीताराम कट्टेल धुर्मुसले फेसबुकमार्फत पुरानो फोटो पोस्ट गरेर शुभकामना दिए। उनी हाल मुहसर बस्ती हस्तान्तरणका लागि व्यस्त छन्।