रत्ननगर : नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो।
नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए।
अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र चैत २८ मा उक्त अभियानअन्तर्गत पहिलो चरणमा नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ।
नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडाँै, पोखरा र लुम्बिनीमा यही चैत २८ गते एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको हो।
क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने भन्दै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाए।
नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथि देवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले जानकारी दिए।
नमस्ते कार्यक्रमपछि वर्षभरि गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उहाँको भनाइ छ। मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटबाट मुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियानको अभिप्राय हो।
विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुनेछ। विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ। सो परिषद्मार्फत विभिन्न देशमा एक जना एनआरएनएले तीन जना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए।
‘विेदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुप¥यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहो¥याएर आउँछन्, चन्दले भने ‘उनीहरुले साथीभाइलाई पनि भन्छन्, हो त्यसैका लागि अतिथि देवो भवः र नमस्ते कार्यक्रम ल्याइएको हो।’
एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भुवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ।
पछिल्लो समयमा नेपालमा भूकम्पअघि जस्तै पर्यटकको आगमन बढेको छ । साविकजस्तै अहिले नेपालमा वार्षिक करिब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक गौतम बताउछन्।
यो अभियानले नेपाल आउने पर्यटकको संख्या वार्षिक १५ लाखभन्दा बढी पु¥याउने लक्ष्य राखेको छ। रासस