वीरगन्ज : बारामा फेरि एउटा हत्याको घटना सार्वजनिक भएको छ। नाम वतन नखुलेको एक ५२/५३ वर्षीय पुरुषको हत्या भएको बारा प्रहरीले बताएको छ।
प्रहरीले आज बिहान ७ बजे महागढीमाइ नगरपालिका वडा नं ६ पर्ने बबुआइन टोल नजिकबाट हत्या गरी जुटको बोरामा लास पोको पारेर फालिएको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी गराए। 'मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिन्छ, 'उनले भने, 'पोष्टमार्टम भएपछि थप विवरण आउने छ।'
लासको प्रकृति हेर्दा सोमबार राति नै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले मृतक र घटनामा संलग्न अभियुक्तका बारेमा अनुसन्धान तीब्र पारिएको बताएको छ।