
काठमाडौं : प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई सरकारले नियुक्ति दिएको २४ घन्टा नबित्दै डिआइजी नवराज सिलवाल पुन: सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन्।
आज सर्वोच्च पुगेका डिआइजी ढकालले प्रक्रिया पुर्याएर अर्यालको नियुक्ति बदर गर्न मागसहित निवेदन बुझाएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले बताए। तर निवेदन दर्ता भने भएको छैन।
फागुन १ गते बिहानको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गरेपछि वरीयता मिचिएको भन्दै सिलवालले सोही दिन नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा पहिलो रिट हालेका थिए।
मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक भइनसक्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारको सो निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गर्यो। नियुक्त भइसकेपछि पनि चन्दले दर्ज्यानी चिह्न लगाउन पाएनन्।
लामो समयसम्म प्रहरी महानिरीक्षक नियुक्तिको मुद्दा चलिरह्यो। प्रधानन्यायाधीश कार्कीले यो मुद्दाका लागि आफ्नै नेतृत्वमा बृहद् पूर्ण इजलास गठन गरिन्। यस्तो इजलासले गरेको फैसला पुनरावलोकन हुँदैन। इजलासले चन्दको नियुक्ति बदर मात्रै गरेन, कार्य सम्पादन मूल्याङ्कनमा नवराज सिलवाल एक नम्बरमा रहेको भन्दै उनको वैध अपेक्षा पूरा गर्न र कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा रहेको व्यक्तिलाई आइजी नियुक्ति गर्न चैत ८ गते परमादेश दिएको थियो।