
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नयाँ प्रस्ताव प्रमुख राजनीतिक दलका नेताहरुसँग परामर्श गरेर ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका छन्।
संसद्को सुशासन तथा अनुगमन समितिको आज बसेको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको दोस्रो प्रस्तावलाई सबैको भावना समेट्ने र सहमति जुट्ने गरी तयार पारिएको बताए। उनले यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरे।
मधेसी मोर्चा र संघीय गठबन्धन पनि चुनावमा सहभागी हुने ढोका खोलेको बताउँदै उनले आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने स्पष्ट पारे। उनले भने, 'मधेसका केही जिल्लामा स्थानीय तहको केही संख्या बढाउन स्थानीय विकास मन्त्रीको नेतृत्वमा समिति बनाएको र ती ठाउँमा केही दिन चुनाव पछि सार्न सबैको सहमति हुन्छ भने सरकार तयार छ, तर वैशाख ३१ मा तय भएको चुनाव भने सर्दैन।'