
काठमाडौं: सत्य प्रेम कथामा आधारित फिल्म 'बबी' बन्ने घोषणा भएको छ। फिल्मकर्मी मिलन चाम्सले मङ्गलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक घोषणा गरेका हुन्।
फिल्मका लागि निर्माता एवं निर्देशक रहनेछन् मिलन चाम्स। प्रेम कथाका वास्तविक पात्रहरुले नै फिल्ममा आफ्नो भूमिका निभाउदैछन्। फिल्मका लागि अभिनेता उमेश थापा रहनेछन् भने अभिनेत्री कबिता गुरुङ रहनेछिन्। नेपाली फिल्म इन्डस्ट्रीमा पहिलोपटक दुई वास्तविक पात्र उत्रन लागेको निर्देशक चाम्सको दाबी छ। भने,'हरेक प्रेमकथा राम्रो हुन्छ तर यो निकै फरक छ।'
ललितपुर लुभुका उमेश थापा र पोखराकी कबिता गुरुङको प्रेम कथा नर्वे, काठमाडौं र पोखरामा खिचिने निर्माण युनटले जानकारी दिएको छ। फिल्ममा दुई मुख्य पात्र बाहेक विजय लामाको पनि अभिनय रहनेछ। जुन १७ बाट फ्लोरमा उत्रने फिल्म निर्माण युनिट जुलाई १२बाट नेपाल छायांकनका लागि फर्कनेछ।
समाजले दुई फरक जात भनेर छुट्ट्याएको युवा युवतीको प्रेम, संघर्ष र प्राप्तीको कथा फिल्मको केन्द्रमा रहेको छ।