
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन्।
बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले तोकिएको मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरिहार्य भएको बताए। उनले चुनावपछि स्थानीय तहमै संगठित रुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको बताए।
चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताए।
प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सीघ्र निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने बताए।