
मनिला : फिलिपिन्सको पर्यटकीय टापुमा शङ्कास्पद इस्लामिक लडाकूसँग यहाँको सुरक्षाकर्मीको मङ्गलबार झडप हुँदा कम्तीमा चार सुरक्षाकर्मीसहित नौ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीले जनाएका छन्।
इस्टर (क्रिश्चियन पर्व) मनाउन बर्सेनि लाखौँ मानिस बोहोल टापुमा जाने गर्छन । यस वर्ष पनि सधैँ झै उक्त टापुमा क्रिश्चियन पवित्र पर्व ‘इस्टर’ मनाउन लाखौँ मानिस त्यसतर्फ जम्मा हुने अपेक्षा थियो।
बोहोल टापुमा ठूलो सङ्ख्यामा अबु सैयफ समूहका लडाकू प्रवेश गरी खासगरी विदेशी पर्यटकलाई निशाना बनाउनसक्ने सूचना आइरहेका समय भएको झडपले उक्त टापुप्रति विदेशीको आकर्षणलाई चुनौती दिने बताइएको छ।
झडपपछि उक्त स्थानमा पाँच लडाकूको मृत्यु भएको, एक विस्फोटक पदार्थ र लडाकूले प्रयोग गरेका चार राइफल कब्जा गरिएको यहाँको सुरक्षा स्रोतले बताएको छ।
उक्त टापुमा आतङ्कवादी हमला हुनसक्ने भन्दै केही दिन पहिले अमेरिका तथा अस्ट्रेलिया प्रशासनले आफ्ना नागरिकलाई यात्रामा सावधानी अपनाउन वा अनावश्यक रुपमा त्यहाँ नजान सल्लाह दिएको थियो। बेलायतले पनि मङ्गलबार घटना हुनुपूर्व नै सोही किसिमको सल्लाह आफ्ना नागरिकलाई दिएको थियो। रासस/एएफपी