PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रदेश २ का सबै जिल्लामा तोकिए मतदान केन्द्र, देशभर मतदान केन्द्र तय



रमेश वाग्ले

प्रदेश २ का सबै जिल्लामा तोकिए मतदान केन्द्र, देशभर मतदान केन्द्र तय

काठमाडौं : मधेसी मोर्चाका कारण रोकिएका प्रदेश नम्बर २ का सबै जिल्लामा मतदान केन्द्र तोकिएको छ। प्रदेश नम्बर २ मा केन्द्र तोक्न बाँकी महोत्तरी, सप्तरी र सिरहा जिल्लामा पनि राजनीतिक दलको सिफारिसमा मतदान केन्द्र तोकिएपछि देशका सबै जिल्लामा मतदान केन्द्र तोक्ने काम सकिएको हो।

‘सबै जिल्लाको मतदान केन्द्र तोकिने काम सकिएको छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, ‘यो सँगै आयोगलाई काम गर्ने बाटो पनि पूर्ण रुपमा खुलेको छ।’ 

थप तीन जिल्लामा मतदान केन्द्र तोक्ने काम सकिएसँगै तराईका सबै जिल्लाको मतदान केन्द्र तोक्न कार्य टुंगिएको हो। 

मंगलबार मात्र सिफारिस भएर आएका महोत्तरी, सिरहा र सप्तरीमा क्रमशः २५६, २९२ र २१८ मतदान केन्द्र तय भएका छन्। यसअघि ती जिल्लामा क्रमश २३३, २८१ र २१६ मतदान केन्द्र कायम थिए। 

असन्तुष्ट मधेसी मोर्चा सहमतिमा नआएपछि अन्तिम समयमा मोर्चामा आवद्ध बाहेकका दलहरुको सल्लाहमा मतदान केन्द्र तोकिएको हो। मतदान केन्द्र तोक्ने सहयोगी दलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासहितका दलहरु छन्। मोर्चामा आवद्ध सात दलले असन्तुष्टि कायमै राखेका छन्। 

‘अन्यत्र पनि प्रमुख दलहरुको सिफारिसमा नै मतदान केन्द्र तोकिएको हो। त्यसमा साना दलले सहमति जनाएका कारण सर्वसम्मती भएको थियो’, निर्वाचन आयोगका एक अधिकारीले भने, ‘तर २ नम्बर प्रदेशमा मोर्चालाई कुर्दाकुर्दै समय गुज्रिएपछि प्रमुख दलहरुले अगुवाइ गरेर मतदान केन्द्र सिफारिस गरेका हुन्।’ 

उनले निर्वाचन आयोगले सबैलाई मिलाएर मतदन केन्द्र तोक्न गरेको पहल सफल नभएका कारण अन्त्यमा प्रमुख दलको सिफारिस स्वीकार गरेको बताए। 

सबै जिल्लामा तोकिएका मतदान केन्द्र एकीकृत गरी मतदान केन्द्र निर्धारण र त्यस अनुरुप केन्द्र अन्तर्गत पर्ने मतदाताको संख्या निर्वाचन आयोगको बैठकपछि मात्र सार्वजनिक गरिनेछ। 

मतदान केन्द्र तोकिएसँगै निर्वाचन आयोगलाई निर्वाचनका लागि सबै काम गर्ने बाटो खुलेको छ। आयोगले मतदान केन्द्र निर्धारण नहुँदा केन्द्र अनुसार मतदाताको वर्गीकरण गर्न सकेको थिएन।

यस सँगै निर्वाचन आयोगलाई मतदान केन्द्र तोकेर मतदाता परिचयपत्र छपाइको पनि बाटो खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell