गोरखा : निजी आवास पुनःनिर्माण सम्पन्न भएका गोरखाका २४ घरधनीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराइएको छ।
भूकम्पले क्षति पुगेका ७० हजार वटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ।
भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी घर ढुङ्गा, माटो र काठको जोडाइबाट बनाइएको हो। सेभ द चिल्ड्रेनको आर्थिक र स्वाँरा सघन गाउँ विकास केन्द्रको साझेदारीमा निर्माण सम्पन्न भएका घरमा बायोग्यास र शौचालय पनि निर्माण गरिएका छन्। पुनःनिर्माण भएका घरधनीले सरकारी सहयोगको सट्टा संस्थाको सहयोगमा घर बनाएका हुन्।
स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयोजक वीरेन्द्र श्रेष्ठका अनुसार सङ्घसंस्थाको सहयोगमा ४५० वटा घर पुनःनिर्माण भइरहेका छन्। तीमध्ये २४ घरको अन्तिम किस्ताको रकम भूकम्प प्रभावित लाभग्राहीको बैंक खातामा पठाइसकिएको छ। तेस्रो किस्तामा रु एक लाख उपलब्ध गराइएको हो।
बायोग्यास वा शौचालय नबनाएर घरमात्रै बनाउने परिवारलाई तेस्रो किस्तामा रु ७५ हजार दिइएको छ। आउँदो असारभित्रमा ४५० वटा घर निर्माण भइसक्ने जानकारी श्रेष्ठले दिए।