
मुस्ताङ : मुस्ताङको कोरला नाका खुलाउन कलाकारले गीत मार्फत आह्वान गरेका छन्।
कोरला नाका खोल्न दबाब दिनेगरी गीतकार विपीन किरणले गीत लेखेका हुन्। मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गिती एल्बम 'हाम्रो मुस्ताङ'को सार्वजनिक कार्यक्रम पनि कोरला नाकाकै मंगलबार गरिएको थियो।
थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालिका-५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद् श्रीमाया थकालीले एल्बमको विमोचन गरिन्।
सात वटा गीत रहेको एल्बममा समाविष्ट तीन गीत मुस्ताङसँग सम्बन्धित छन्। एल्बमका गीतमा टीका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, लेखराज गुरुङ, राजेश पायल राईको स्वर रहेको छ।
मिलन मोक्तानको संगीत र विपीन किरणको शब्द रहेको गीतमा मुस्ताङको पर्यटकीय, धार्मिक स्थल, कला संस्कृतिको उजागर गरिएको छ।
गीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको फिल्म निर्माता बादल थकाली ले बताए।
प्रत्येक १२ वर्षमा लाग्ने परम्परागत यो मेला १५ दिनसम्म चल्नेछ ।