
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न पाँच दिने भारत भ्रमणको मिति र कार्यतालिका भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले वैशाख ४ गतेदेखि ८ गतेसम्म छिमेकी भारतको राजकीय भ्रमण गर्ने भएकी छन्।
राष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण हो। अघिल्लो वैशाख २७ गतेदेखि ५ दिनको भ्रमण तय भए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा भ्रमण स्थगित भएको थियो।
मध्यप्रदेशको उज्जैनमा आयोजित कुम्भ मेलामा सहभागी हुन भारत जाने निधो भए पनि भ्रमण रोकिएको थियो। सरकार परिवर्तनमा भारतको चासो बढेको आरोप लागिरहेको बेला उनको भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गरेको थिएन।
भ्रमण स्थगन भएको एक वर्षपछि पुनः राष्ट्रपति भ्रमणको कार्यतालिका सार्वजनिक भएको हो। मन्त्रिपरिषदको मंगलबारको बैठकले उनको भ्रमण अनुमोदन गरेको थियो।
भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणमा भण्डारी भारत जान लागेकी हुन्। परराष्ट्रका अनुसार उनी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछिन्।
वैशाख ४ गते भारत प्रस्थान गरेपछि वैशाख ५ गते भण्डारी उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सामेल हुनेछिन्। त्यहाँ उनले ‘गार्ड अफ अनर’ समेत लिनेछिन्। भण्डारीले सोही दिन राजघाटमा महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्नेछिन्। र, यमुना पार्कको अवलोकन गर्नेछिन्।
भ्रमणका दौरान भण्डारीले उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी र केही बरिष्ठ मन्त्रीहरुसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। सोही दिन भारतीय समकक्षी मुखर्जीले उनको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुनेछिन्।
राष्ट्रपति भण्डारी नेपाली दूतावासले उनको सम्मानका लागि आयोजना गर्ने विशेष रात्रिभोजमा पनि सामेल हुने कार्यक्रम छ।
भारत भ्रमण दौरान राष्ट्रपति भण्डारीले गुजरात र ओडिसाको पनि भ्रमण गर्ने कार्यतालिका छ। भ्रमण सकेर वैशाख ८ गते राष्ट्रपतिको स्वदेश फर्कने कार्यक्रम छ।