PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

निर्वाचन केन्द्रित सुरक्षा निगरानी बढाउँदै प्रहरी, राजधानीमा कुकुर परिचालन



पहिलोपोस्ट

निर्वाचन केन्द्रित सुरक्षा निगरानी बढाउँदै प्रहरी, राजधानीमा कुकुर परिचालन

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रहरी सुरक्षा व्यवस्था मजबुतीतिर लागेको छ। राजधानी भित्रिने नाकामा केही दिनयता चेकजाँच कडा बनाएको प्रहरीले सोमबारबाट राजधानीका विभिन्न क्षेत्रमा विशेष तालिमप्राप्त कुकुर परिचालन गरेको छ।
 
लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालिमप्राप्त कुकुरलाई परिचालन गरिएको हो। परिचाल गरिएको पहिलो दिनमै कुकुरले राजधानीको टोखा लगायतका स्थानबाट केही लागुऔषध पत्ता लगाएको छ। 


महानगरीय प्रहरी वृत्त महाराजगन्जसँगको समन्वयमा प्रहरी नायव निरीक्षक  विक्रमबहादुर थापाको कमाण्डमा लगिएको कुकुरले लागुऔषध फेला पारेका थिए।

हातहतियार तथा विस्फोटक पदार्थको खोजीमा प्रहरीले ल्याब्राडोर जातको ब्रुक र लागुऔषधको खोजीका लागि जर्मन शेफर्ड (अल्शेसन) जातको ओप्रा नामक कुकुर परिचालन गरेको थियो।

ओप्राले अन्दाजी २ सय ग्राम गाँजा र करिब ७५ लिटर घरेलु मदिरा फेला पारेको थियो। जर्मन शेफर्ड जातको मुन्नी र टेम नामक कुकुरले भने ५ सय ग्राम गाँजा पत्ता लगाएका थिए। बा ७४ प २६५५ नम्बरको मोटरसाइकलमा सवार ककनी-३ रानीपौवा, नुवाकोटका गणेश लामाको ब्यागबाट ती कुकुरले लागुऔषध पत्ता लगाउन सघाएको प्रहरी नायव निरीक्षक थापाको बताए।

राजधानीका विभिन्न स्थानमा अहिले बिहान र बेलुका तालिमप्राप्त कुकुरबाट निगरानी सुरु गरिएको छ। 

कति छन् प्रहरीका कुकुर?

नेपाल प्रहरीसँग देशभर ७१ वटा तालिमप्राप्त कुकुर छन्। तीमध्ये काठमाडौँको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा ४१ वटा छन्।
सबैभन्दा बढी २८ वटा जर्मन शेफर्ड छन्। यो जातका कुकुर लागुऔषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायतका क्षेत्रमा अनुसन्धान गर्न खटिने गरेका छन्।

त्यस्तै ११ वटा ल्याब्राडोर जातका कुकुर हातहतियार र लागुऔषध पत्ता लगाउन मात्र प्रयोग हुन्छन्। प्रहरीसँग दुई वटा स्पानियल जातका कुकुर पनि छन्। 

एक वर्षभित्र प्रहरीसँग भएको तथ्याङ्क हेर्ने हो भने लागुर्औषध र विस्फोटक पदार्थ छानबिनको लागि झन्डै १ सय ६० प्रतिशतले तालिमप्राप्त कुकरको माग बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell