PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुनसान छ निर्वाचन आयोग : आयुक्त र सचिवका कुर्सी किन भए खाली?



रमेश वाग्ले

सुनसान छ निर्वाचन आयोग : आयुक्त र सचिवका कुर्सी किन भए खाली?

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन एक महिना बाँकी छ। तर निर्वाचन आयोगमा सोमबारदेखि कुनै निर्वाचन आयुक्त छैनन्। आयुक्त मात्र होइन सचिव र सहसचिवहरुको कुर्सी समेत खाली छ।

निर्वाचनको चटारो बढ्दै गर्दा उनीहरु यति बेला राजधानीमा छैनन्। काठमाडौं र उपत्यकाबाहिर चलेको प्रशिक्षण केन्द्रमा तालिम दिन व्यस्त छन्। सात स्थानमा सुरु भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको प्रशिक्षणका लागि व्यस्तता बढेको हो।

मंगलबार प्रमुख आयुक्त अयोधीप्रसाद यादव हेटौँडा पुगेका थिए। आयुक्त इला शर्मा धनगढी पुगेकी छन् भने अर्का आयुक्त सुधीरकुमार शाह सुर्खेतमा छन्। ईश्वरीप्रसाद पौडेल पोखरा छन् भने आयुक्त नरेन्द्र दाहाल विराटनगरमा छन्।

आयोगका सचिव गोपीनाथ मैनाली भने प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि सिन्धुली पुगेका थिए। त्यहाँको कार्यक्रम सकेर उनी भने काठमाडौं भित्रिएका छन्।

आगामी ३१ गतेसम्म चल्ले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको प्रशिक्षण सकेर मात्र उनीहरु काठमाडौं फर्कनेछन्।

काठमाडौं, सिन्धुली, विराटनगर, हेटौडा, पोखरा, सुर्खेत र धनगढीमा गरी सात स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको प्रशिक्षण सञ्चालन भइरहेको छ।

७ ठाउँमा ७६९ सहभागी

प्रशिक्षणमा ७५ जना मुख्य निर्वाचन अधिकृतसहित ७ सय ६९ जना सहभागी हुँदैछन्। ७ सय ४४ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु निर्वाचन क्षेत्रमा खटिनेछन् भने बाँकी २५ अधिकृतहरु आपतकालीन परिचालनका लागि जगेडामा रहने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए।

'आयोगको मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको छ। वैशाख ३ गतेदेखि प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय खुल्छ,' आयुक्त दाहालले भने, 'यसँगै आयोगलाई निर्वाचन तयारीको पूरै बाटो खुलेको छ, अब राजनीतिक वातावरण निर्माण गर्ने र निर्वाचनमा लाग्ने काम राजनीतिक दल र सरकारको हो।'

उनले आगामी वैशाख १२ भित्र प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यलय पनि खुलिसक्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell