
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयकलाई अस्वीकार गरेको छ। साथै मोर्चाले निर्वाचनमा सहभागी नहुने स्पष्ट गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारसँग विगतमा भएका समझदारी, सहमति र सम्झौताको मर्म र भावनाविपरीत सरकारले संशोधन ल्याएको जनाएको छ। संशोधनले सीमाङ्कन लगायतका मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएकाले संशोधनलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
मोर्चाले संविधान संशोधन गरुन्जेल आफूहरुको आन्दोलन जारी रहने समेत जनाएको छ। 'आन्दोलन जारी रहेको वर्तमान अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गर्दछ,' बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ।
मोर्चाले आफ्नो आन्दोलनको कार्यक्रम जारी राख्ने भन्दै चैत ३१ मधेसका सबै जिल्लाका सदरमुकाममा जुलुस निकाल्ने जनाएको छ।
त्यस्तै बैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम समेत मोर्चाले तय गरेको छ। बाँकी कार्यक्रम पछि तय गर्ने मोर्चाको भनाइ छ।