
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आएको बताएका छन्।
नेपाली सैनिक प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा बोल्दै उनले नेपाली सेनाले राष्ट्र र राष्ट्रवासीका निम्ति सगर्व समर्पित हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनूकरणीय योगदान दिँदै नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामू परिचित गराउन कुनै कसर बाँकी नराखेको बताए।
उनले भने, 'सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ।'
नेपाली सेना नेपाली जनतासँग काँधमा काँध मिलाउँदै अहोरात्र जनसेवामा समर्पित रहेको बताउँदै उनले भने, आफ्नो पेशासँग मात्र आवद्ध नभई नेपाली जनता र मुलुकप्रति सधैँ समर्पित र प्रतिवद्ध रहँदै राष्ट्रिय विपत्ति र संकटका घडीहरुमा समेत अग्रस्थानमा रही आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सक्षम रहेका छ।'
प्रधानमन्त्रीले तालिममा उत्कृष्ट भएकालाई सम्मान गरेका थिए। कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता रहेको थियो।