PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

मेयर लड्न प्राध्यापक पदबाट राजीनामा दिए घिमिरेले



रासस

चितवन : स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिएका छन्।

विद्यार्थी कालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका हुन्। अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहेका घिमिरे कांग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिँदै छन्।

विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित भएका थिए।

नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्य लगायतका पदमा रहेर काम गरिसकेका घिमिरेले पटकपटक गरी झन्डै एक वर्ष जेल जीवन बिताएका छन्।

महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले पार्टीले टिकट दिने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको उनले बताए।

महानगरका लागि कांग्रेसबाट ३४ जनाले आकांक्षा देखाएका छन्। कांग्रेस भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell