.jpg)
- दिनेश खड्का
काठमाडौं : साझा यातायातलाई भक्तपुरमा रुट परिमट दिन थप झुलाइएको छ। साझाको भक्तपुर परमिटबारे अब स्थानीय निकाय निर्वाचनपछि मात्र निर्णय गरिने साना तथा ठूला सवारी कार्यालय बाग्मतीले जनाएको छ।
साना तथा ठूला सवारी कार्यालयका प्रमुख बसन्त अधिकारीले स्थानीय चुनावका लागि कर्मचारी खटिइसकेको हुँदा अब चुनावपछि मात्र निर्णय हुने बताएका हुन्।
साझाका बस अहिले खाली नरहेको हुँदा चुनावपछि रुट परमिट दिँदा पनि फरक नपर्ने उनको भनाइ छ।
साझाका गाडी नथन्किएको र भक्तपुरका स्थानीय व्यवसायीले समेत चर्को विरोध गरेको कारण चुनावपछि निर्णय लिने निष्कर्षमा पुगेको उनले बताए।
भक्तपुरका यातायात व्यवसायीले साझालाई रुट परमिट नदिन निरन्तर लबिइङ गर्दै आएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने यो विषयमा मौन छ।
३० फागुनमा साझाले यातायात व्यवस्था विभाग साना तथा ठूला सवारी कार्यालय बाग्मतीमा रुट परमिटका लागि निवेदन दिएको थियो।
गत १७ चैतमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले १० दिनभित्रमा रुट दिने इजाजत दिने निर्णय गरेको थियो। त्यस अनुरुप २७ गते भित्र निर्णय दिनुपर्नेमा यातायात कार्यालयले नयाँ भाका राखेको हो। सुरुमा बिस्केट जात्रापछि इजाजत दिने बताइए पनि अहिले स्थानीय तहको चुनाव पछि भनिएको हो।
सबै कानुनी प्रक्रिया पूरा गरेर पनि रुट परमिट नपाएको प्रति साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले गुनासो व्यक्त गरेका छन्।
साझा यातायातले रुट दिन नमिल्ने हो भने कारण देखाउन यातायात कार्यालयलाई आग्रह समेत गरेको छ। अहिले साझा यातायात काठमाडौं र ललितपुरमा सेवा विस्तार गरेर आम यात्रुमा लोकप्रिय बनेको छ।
साझा यातायातको उपत्यकाभित्र ४२ तथा उपत्यकाबाहिर लामो रुटमा ४६ वटा बस सञ्चालनमा रहेको छ।