PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

निर्वाचन आउन एक महिना बाँकी : ३ गते जिल्ला र १२ गतेसम्म गाउँ पुग्दै आयोग



पहिलोपोस्ट

निर्वाचन आउन एक महिना बाँकी : ३ गते जिल्ला र १२ गतेसम्म गाउँ पुग्दै आयोग

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग गाउँतिर विस्तारित हुन सुरु गरेको छ। आगामी वैशाख ३ मा आयोग जिल्लाजिल्ला पुग्नेछ भने १२ गतेसम्ममा प्रत्येक गाउँ, नगर, उपमहानगर र महानगरपालिका पुग्नेछ।

केन्द्रमा रहेको निर्वाचन आयोग चुनाव गराउन आयोगको प्रतिनिधित्व गरी गाउँसम्म जाने मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको तालिममा व्यस्त छ।

काठमाडौं, सिन्धुली, विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र धनगढी गरी सात ठाउँमा हुने प्रशिक्षणमा सहभागी ७ सय ६९ मध्ये जिल्ला न्यायाधीशको रुपमा कार्यरत ७४ जनाले मुख्य निर्वाचन अधिकारीका रुपमा आगामी ३ वैशाखमा आ-आफ्नो जिल्लामा कार्यालय खोल्नेछन्। त्यससँगै आयोगले जिल्लामा उपस्थिति जनाउनेछ।

बाँकी ६ सय ६९  निर्वाचन अधिकारीले वैशाख १२ सम्ममा प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कार्यालय खोल्नेछन्।

'निर्वाचन अधिकारीले कार्यालय खोलिसकेपछि आयोगले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र र अन्य निर्वाचन सामग्री जिल्लामा पठाउन सुरु गर्छ,' निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, 'त्यसपछि वैशाख १६ गतेबाट प्रत्येक निर्वाचन अधिकारीले उम्मेदवारको मनोनयन सुरु गर्नेछन्।'

आयुक्त दाहालले उम्मेद्वारको अन्तिम नामावली वैशाख १९ मा प्रकाशन हुने जानकारी दिँदै त्यसपछि निर्वाचन सामग्री मतदानस्थलसम्म पुर्‍याउने र मतदान गराउने मात्र काम बाँकी रहने बताए।

निर्वाचन आयोगले मतदाता नामावली, मतदाता परिचयपत्र र मतपत्रको प्रकाशन गरिरहेको छ।

आयोगले पाँच प्रकारका प्रचार पोस्टर तथा पम्प्लेटसहितका मतदाता शिक्षा तथा निर्वाचन प्रचारका सामग्री १६ वटा भाषामा छापेर दुर्गमका जिल्लामा पठाइसकेको छ भने सुगम जिल्लाहरुमा पनि पुर्‍याउने क्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell