PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

दैनिक ६ सय कर्मचारीले यसरी छाप्दैछन् मतदाता परिचय पत्र

दैनिक ६ सय कर्मचारीले यसरी छाप्दैछन् मतदाता परिचय पत्र

रमेश वाग्ले/पहिलोपोस्ट


काठमाडौँ : स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा मतदानका लागि आवश्यक पर्ने मतदाता परिचयपत्र धमाधम छापिँदैछ। 
निर्वाचन आयोग परिसरमा दैनिक ६ सय कर्मचारी परिचयपत्र छपाईमा खटिरहेका छन्।  बुधबारसम्म ५० जिल्लाको मतदाता परिचय पत्र छपाइ सकिँदा करिब ५५ लाख मतदाता परिचयपत्र छपाइ सकिएको छ। 

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार २ नम्बर प्रदेशका जिल्लासहित तराईका जिल्ला र काठमाडौ उपत्यकाका ३ जिल्लाको मतदाता परिचय पत्र छाप्न बाँकी छ। 

'हामी दैनिक सातदेखि १० लाख मतदाता परिचयपत्र छापिरहेका छौं,' मतदाता परिचय पत्र छपाईको ठेकेदार कम्पनी ओम्नी बिजनेस ग्रुपका अधिकृत दीपेश न्यौपानेले भने, 'प्रकाशित मध्ये ८० प्रतिशतसम्म त्यही दिन लेमिनेसन सकिन्छ।' 

दैनिक सातदेखि १० लाख मतदाता परिचय पत्र प्रकाशनका लागि तीन सिफ्टमा ६ सय कर्मचारी खटिरहेका छन्।  

चारवटा प्रेसबाट छापिने मतदाता परिचय पत्र प्रत्येक सिफ्टमा खट्ने दुई सय कर्मचारीले सर्टिङ, लेमिनेसन र प्याकिङ गर्छन्। 

प्रेसबाट प्रिन्ट भएको मतदाता परिचय पत्र सुरुमा कटिङमा जान्छ। कटिङ सकिएपछि मतदाता नम्बर अनुसार त्यसको सर्टिङ हुन्छ।  सर्टिङ भएपछि कर्मचारीले त्यसलाई लेमिनेसनको प्लास्टिकभित्र राख्नछन्। त्यसरी राखेको परिचय पत्र ५० जना कर्मचारीले लेमिनेसन गर्छन्। लेमिनेसन सकिएपछि पुनः नम्बर अनुसार सर्टिङ गरी सय वटाका दरले बण्डल तयार हुन्छ। 

त्यसरी तयार पारिएको बण्डल २० वटा राखेपछि एउटा कार्टुन भरिन्छ। 

सामान्यतः एउटा गाउँपालिकाको एउटा वडाको परिचयपत्र सानो आकारको एउटा कार्टुनमा प्याकिङ हुन्छ। त्यसरी प्याकिङ गरेका कार्टुनलाई पुनः ठूलो कार्टुनमा राखेपछि एउटा गाउँपालिकाको एउटै कार्टुनमा प्याकिङ हुन्छ।

त्यसरी प्याकिङ गरेको मतदाता परिचय पत्र जिल्ला-जिल्लाको छुट्याएर भण्डारण गरिन्छ। जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय र सुरक्षित भण्डारणको व्यवस्था भएपछि निर्वाचन आयोगले मतदाता परिचयपत्र जिल्ला-जिल्लामा पठाउने काम गर्छ। 




 
 
ओम्नी ग्रुपले नेपालको नक्सामा मतदाता नामावली प्रकाशित जिल्लाहरुलाई पेन्टिङ गरी यसरी छुट्टाउँदै काम गरिरहेको छ।  


ट्रेन्डिङ पोस्ट

Ncell