काठमाडौं : पूर्वराज ज्ञानेन्द्र शाहले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन नमिलेको बताउँदै सो सतहमै प्रकट भएको बताएका छन्।
नववर्ष २०७४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो असन्तुलन र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा समेत प्रकट भएको बताएका छन्।
अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग भन्दै उनले सोधेका छन्- विगत ११ वर्ष के कसरी बिते? यो अवधिमा केके भए? यस अवधिमा तमाम नेपाली दिदीबहिनी, दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हकहितमा के कति सुधार आयो?'
उनले शुभकामना सन्देशमा २०६३ सालमा राजनीतिक दलका नेतासँग बनेको सहमतिअनुसार संसद पुनर्स्थापना भए पनि जनताको चाहना बमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा दलहरु पटकपटक चुकेको गुनासो गरेका छन्। 'राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं। संसद पुनर्स्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दुमा राखी मौनतापूर्वक साथ दिएका हौं,' पूर्वराजाले भनेका छन्।
हिमाल, पहाड र तराई नेपालको विश्व परिचय भएको भन्दै उनले सो अनुसार व्यवहार नहुँदा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएकोमा पनि चिन्ता जाहेर गरेका छन्। सनातन धर्ममा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालबाजीका कारण सामाजिक जीवन आकुलव्याकुल बनेको उनको भनाइ छ। महाभूकम्प र बाढीपहिरोका कारण बासविहीन जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन नसकेको उनको ठहर छ। राजनीतिक क्षेत्रप्रतिको भरोसा न्युन भएको भन्दै उनले देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्छकालीन असर पुर्यानउने त्रास थपेको बताएका छन्।